कृष्णपुर नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

  ०७६ साउन ३० गते

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको छ ।

नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समयमा औषधि खरिद र आपुर्ति नगरेकाले कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको हो ।

कृष्णपुर स्वास्थ्य चौकीमा निशुल्क वितरण गर्नुपर्ने ४५ प्रकारका औषधिमध्ये २२ प्रकारका मात्रै रहेको र त्यो पनि पर्याप्त नरहेको कृष्णपुर नगरपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र विष्टले बताए ।

नगरपालिका र सङ्घीय सरकारद्वारा प्रदान गरिने औषधि खरिद प्रक्रियाका कारण समयमै औषधि उपलब्ध हुन नसकेको विष्टले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय हुँदा कतै कम र कतै बढी गरेर माग र आवश्यकताको आधारमा आपुर्ति हुँदै आएकोमा अहिले स्थानीय र सङ्घ तथा प्रदेश सरकारको तालमेल नमिलेका कारणले समयमा नगरपालिका क्षेत्रभित्र रहेका संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

कोटेशन र टेण्डर गरेर औषधि खरिद गर्ने हुँदा समय बढी लाग्ने र आएको औषधिसमेत नगरपालिकामा जम्मा गर्नुपर्ने त्यसपछि दाखिला र पठाउनुपर्ने भएकाले महिनौसम्म ढिलाई हुने गरेको बिष्टले बताए ।

स्वास्थ्य चौकीमा गएर जाँच गराएपछि औषधि सकियो भनेर बिरामीलाई फिर्ता पठाउने गरिएको गुनासो आउने गरेको मानव अधिकार निगरानी समूहकी सदस्य चित्रा ओझाले बताइन् । उनले स्वास्थ्य संस्थामा निशुल्क वितरण गर्ने औषधि सकिएको भन्दै फर्काउने गरेको आरोप लगाइन् ।

कृष्णपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टले औषधि आपुर्तिका लागि औषधि खरिद प्रकिया सुरू गरिसकेको र तुरुन्तै स्वास्थ्य संस्थामा निशुल्क औषधि वितरण गरिने बताए ।


कोमलनिरन्जन भाट