कृषकको लगानी माथि आक्रमण, कृषकले खोजे सुरक्षा

  ०७७ माघ ६ गते


जिल्लामा कृषकको लगानी माथि आक्रमण हुन थालेपछि कृषकहरूले ढुक्क भएर काम गर्ने वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग माग गरेका छन् ।

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा ०७७ पुस २३ गते  आगजनीगर्नेको अझै पहिचान भएको छैन ।

शाहको बाख्रा फर्ममा अपरिचित  व्यक्तिले आगजनी गर्दा २५ बाख्रा मरेका थिए ।  ७० लाख रुपियाँ बढीको फर्मसहित बाख्रा जलेर नष्ट भएपछि शाह परिवार अझै विक्षिप्त छ ।

इलाका प्रहरी कार्यालय चन्द्रकोटका इन्स्पेक्टर मनबहादुर आलेका अनुसार घटनामा संलग्नहरूको खोजी कार्य जारी भएकाले आगजनीको वास्तविक अवस्था बाहिर आएको छैन ।

शौभाग्य शाह कृषि कर्मको लागि वैदेशिक राजगारी छाडेर नेपालमा बस्न थाल्नु भयो । उहाँले केही समय पहिले माछा पालन गर्नुभयो । एक रातमा ३ हजार माछा मरे ।

त्यसपछि कुखुरा पालन गर्नु भयो । कुखुरा पनि त्यसै गरेर नष्ट भए । तर, शौभाग्यले हिम्मत नहारी ऋण खोजेर बाख्रा पालन थाल्नु भएको बताउनु भयो  ।

चन्द्रकोट गाउँपालिका–३ का वडाध्यक्ष एवम् शौभाग्यका बुबा  किरण शाहले षडयन्त्र पुर्वक पेट्रोल छर्किएर आगजनी  गरेकाले सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

‘पेट्रोल छर्किएर षडयन्त्रपूर्वक आगजनी गरिएको हो ।’-शाहले भन्नु भयो-‘समयमै छानविन होस् । मेरो नियति फेरि अर्कोले भोग्न नपरोस् ।’

यो विषयको सत्यतथ्य छानविन गरेर दोषी माथि कारबाही नगरे युवा कृषकहरुको मनोवल घटने शाहले बताउनु भयो ।

मालिका गाउँपालिका–७ घमिरमा मुमानन्द लम्सालको पनि ०७७ पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फँडानी गरे । लम्सालले चार रोपनी खेतमा केरा खेती गर्नु भएको थियो  ।

पीडित परिवारले वडा कार्यालय र मरभुङ प्रहरी चौकीमा उजुरी दियो । तर, अहिलेसम्म घटनामा संलग्नको पत्ता लागेको छैन ।

मरभुङ प्रहरी चौकी असई मेखबहादुर चौहानले शङ्कास्पद व्यक्तिहरूको अनुसन्धान भइरहेको बताउनु भयो ।

मालिका गाउँपालिका–७ घमिरका मुमानन्द लम्सालले मलेसियाबाट फर्किएर गाउँमै व्यावसायिक खेती थाल्नु भएको छ ।

‘कोभिडले विदेशको रोजगारी गुम्यो । गाउँमा गरेर खाने स्थिति पनि भएन ।'उहाँले भन्नुभयो-'अहिले दोहोरिएको प्रवृतत्त निरुत्साहित गर्न स्थानीय सरकार र प्रहरी प्रशासनले चासो दिनु पर्छ ।'

अगुवा कृषक अर्जुन कनौजेले जिल्लामा किसानहरू माथि भइरहेको निन्दनीय कार्यलाई प्रहरी प्रशासनले गम्भिरताका साथ नलिएको आरोप लगाउनु भयो ।

घटनामा संलग्न व्यक्ति पत्ता नलाग्ने तर घटना दोहोरिएपछि ढुक्क भएर कृषिमा लगानी र मेहनत गर्ने अवस्था नभएको उहाँले बताउनु भयो ।

 

 


टोपलाल अर्याल