कुपिण्डे तालको बालुवामा पढाइ खर्च खोज्दै बालबालिका

  ०७५ चैत २१ गते

बनगाड कुपण्डिे नगरपालिका भित्रका अधिकांश बालबालिकाहरू बालुवा बोकेर पढाइ खर्च जुटाउने गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण कापी कलमको जोहो गर्न बालुवा बोक्ने गरेको बालबालिकाहरू बताउँछन् ।

नवज्योति आधारभुत विद्यालय ज्यामिरे अँधेरी र महादेव आधारभुत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जन बढी बालबालिकाहरू विद्यालय समय बाहेक कुपिण्डे तालको बगरमा बालुवा चाल्दै आइरहेका छन् ।

बनगाड कुपिण्डे नपा–८ अन्धेरी बस्ने ११ वर्षीया विमला बुढाले एक हप्ता अघिदेखि बालुवा बोक्न थालेको बताउँछिन् ।

सो विद्यालयमा कक्षा ५ मा पढ्ने आएकी बुढाले विद्यालय बिदाको समयमा बालुवा बोकेर बिताउने गरेको बताइन् ।

‘हामीले बिदाको समयमा कुपिण्डेदह आएर बालुवा बोक्ने गर्छौँ ।’उनले भनिन् हामी धेरै साथीहरूसँगै बालुवा संकलन गर्छौँ र सँगै बोक्छौँ । बालुवा बोकेको पैसाबाट कापी किताब र तेल नुन किन्छौँ ।’ उनले थपिन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरू घर परिवारलाइ सघाउन बालुवा बोक्ने गरेको बालबालिकाहरू बताउँछन् ।

सोही ठाउँका १६ वर्षीय चन्द्र पुनमगर आफुले विगत तीन वर्षदेखि कुपिण्डे दहको बगरबाट बालुवा बोक्न थालेको बताए ।

विद्यालयमा पाइला नै नटेकेको दुखेसो पोख्दै उनले भने बुवा सानै छँदा बित्नुभयो, आमाले काम गर्न नसक्ने अनि मैले नै बालुवा बेचेर घरपविारको खर्च धान्दै आएको छु ।’

बालुवा बेचेर दैनिक ५ सय जति आम्दानी हुने गरेको बताउँदै उनले त्यही खर्चबाट भाइ र बहिनी पढाइ रहेको र घरपरिवार चलाइ रहेको बताए ।

संकलन गरेको बालुवा गाउँमै बिक्री हुने गरेको पुनमगर बताउँछन् । ‘हाम्रै गाउँमा बनाउने घरहरूलाई हामी बालुवा संकलन गर्छौँ ।’ उनले भने ।

नवज्योती माविमा कक्षा ७ मा पढ्ने गर्दै आएका १४ वर्षीय संयोग बुढामगर घरमा बुवाआमालाई र पढाइ खर्चमा सहयोग हुन्छ भनेर बालुवा बोक्न थालेको भन्छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण साथीहरूसँगै बिदाको समयमा बालुवा बोक्ने गरेको र किताव कापी कलम किनेर स्कुल जाने गरेको संयोगले बताए ।

उनले भने ‘भर्खर बार्षिक परीक्षा सकियो अब विद्यालय नखुल्दासम्म दिन दिनै ताल किनारमा बालुवा चाल्नुपर्नेछ ।’

एक पाथि बालुवा १५ रुपियाँमा बेच्ने गरेको र दिनभरमा चार देखि पाँच पाथिसम्म बालुवा संकलन हुने गरेको महादेव आधारभूत विद्यालय ज्यामिरेमा कक्षा पाँच पढ्ने निर्मला थापाले बताइन् ।

विद्यालयको पढाइ प्रभावित हुन नदिन बिदाको दिनमा तालको किनारमा आएर बालुवा जम्मा गर्दै आइरहेको बताउँदै उनले भनिन्–‘बालुवा विक्री गरेर आएको पैसाले पठाईलाई आवश्यक सामान किन्न सहज भएको छ ।’

यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीय हस्तबहादुर ऐरी बताउँछन् ।

विद्यालय समय बाहेक बजार क्षेत्रमा कसैलाई बालुवाको आवश्यकता पर्यो भनेपनि बालबालिकाले बोक्ने गरेको उनले बताए ।

थोरै जग्गा भएका यहाँका स्थानीयको आयको अन्य श्रोत छैन । नुन तेलसम्म जोहो गर्न नसक्ने परिवारका बालबालिका बालुवा बोक्न जाँदा उनीहरूका साथीहरूले पनि सोही लहलहैमा बालुवा बोक्ने गरेको ऐरीले बताए ।

केही समय पहिले सम्म यहाँका बालबालिकाले पढाइ छोडेरै बालुवा बोक्ने गरेको भएपनि आजकल भने विद्यालय समय बाहेक बालबालिकाले बालुवा बोक्ने गरेको ऐरीको भनाई छ ।

सो बारेमा बनगाड कुपण्डिे नगरपालिका प्रमुख गोविन्दकुमार पुनलाई बुझ्दा बालबालिकाले गर्ने श्रमको बारेमा आफुलाइ जानकारी नभएको प्रतिक्रिया दिए ।

नगरभित्र श्रम गर्ने १४ वर्ष मुनिका बालबालिकालाइ तत्काल काम रोक्न लगाउने र आर्थिक अवस्था बुझेर वैकल्पिक व्यवस्था गर्न वडा अध्यक्षसँग छलफल गर्ने नगरप्रमुख पुनले बताएका छन् ।

नेपाल सरकारको बालश्रम निषेध र नियमन गर्न बनेको ऐनमा १४ वर्ष मुनिका बालबालिकालाई श्रम गराएको पाइएमा तीन महिना सम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना गर्ने उल्लेख छ । तर पनि जिल्लामा विभिन्न समयमा बालबालिकालाई श्रम गर्न बाध्य छन् ।

उसो त नेपालको संविधानको धारा ३९ मा बालअधिकारलाई मौलिक हकका रूपमा राखिएको छ । जसले कुनै पनि बालबालिकालाई शारीरिक तथा मानसिक शोषण गर्न पाईने छैन भनि उल्लेख गरिएको भएपनि बनगाड कुपण्डिे नगरपालिकामा भने बालश्रमको अझै अन्त्य हुन सकेको छैन ।


मिना बुढाथोकी