कुटपिट घटनाका चार जना आरोपित विरूद्ध प्रहरीमा किटानी जाहेरी

  ०७६ भदौ ३ गते

बुढीगङ्गा गाँउपालिका-४ पोठियाका १७ वर्षीय बालक मोहम्मद नौसाद मियाँलाई निर्घात कुटपिट गरेको आरोपमा पीडित परिवारले भदौ २ गते चार जनाविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

मोवाइल चोरी गरेको आरोपमा घरबाट बोलाएर लगी साउन ३० गते कुटपिट गरेको आरोपमा पीडित पक्षले बुढीगङ्गा-४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अन्सद मियाँ, १८ वर्षीय अफजल मियाँ र बुढीगङ्गा-५ का २१ वर्षीय आकिप मियाँविरूद्घ प्रहरीमा उजुरी दिएको हो ।

आरोपितहरूले फिल्मी शैलीमा नियन्त्रण लिई दुई घण्टासम्म पेटी, लात्ती र मुक्काले कुटपिट गरेको पीडित परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

घटना भएको चारदिन पछाडी कुटपिट भएको भिडियो सार्वजनिक भएपछि मात्र घटना थाहा भएको पीडित परिवारको भनाई छ ।

साउन ३० गते साँझ ५ बजे घरैबाट एक किलोमिटर जति परको खुल्लाचउरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको पीडितका बाबु मोहम्मद अलिम मियाले बताए ।

आरोपित मध्येका एकले साथी-साथीबीचमा मोबाइल हेर्ने क्रममा भदौ १ गते साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा थाहा पाएको पीडित परिवाको भनाई छ ।

कुटपिटबाट ढाडलगायत शरीरका विभिन्न अङ्गमा चोट लागेका पीडितको उपचार विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको छ ।

प्रहरीका अनुसार एक साताअघि गाउँकै अजय रायको मोबाइल चोरी भएको थियो । त्यही मोबाइल चोरी गरेको आरोप लगाउँदै अपहरण शैलीमा नियन्त्रणमा लिएर चार जनाले कुटपिट गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

पीडितका बाबु अलिमले मोबाइल चोरीमा छोराको संलग्नता नरहेको बताए । मोरङ डिएसपी राजकुमार खिउजुले नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै कानुन हातमा लिने काम भएको र घटनामा संलग्न चारै जना फरार रहेकाले खोजी भइरहेको बताए ।


इन्दिरा भट्टराई