कुटपिट गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

  ०७५ कात्तिक १४ गते

फाकफोकथुम गाउँपालिका–२ का २० वर्षीय सुवास रिजाललाई सेवा लिन जाँदा सोही वडाका वडाध्यक्ष यामबहादुर पौडेलले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बिजुलीको मिटरबक्सका लागि सिफारिस लिन जाँदा वडाध्यक्ष पौडेलले कात्तिक १३ गते आफूमाथि कार्यकक्षमै कुटपिट गरि निकालेको रिजालले दिएको उजुरीमा उल्लेख छ ।

पौडेलले रिजाललाई टाउकोमा दुई बक्सर हानेको प्रत्यक्षदर्शीले बताएका छन् । १५ दिन अघिमात्रै गाउँमा विस्तार भएको बिजुली मिटरबक्स नभएपछि आफूहरूले डाइरेक्ट लाइनबाट जोडेको र विद्युत कर्मचारीले तीनदिन अघि बिजुली काटिदिएको पीडित रिजालले बताएका छन् ।

विद्युत काटिएपछि आफूले वडाध्यक्षलाई फोन गरि सूचना नदिइ विद्युत काटेको गुनासो गरेको रिजालले बताएका छन् ।

मिटरबक्सको सिफारिस लिन वडा कार्यालय जाँदा ‘हिजो मलाई फोन गरी धम्क्याउने तँ नै होइनस्’ भन्दै वडाध्यक्षले कुटपिट गरेको पीडित रिजालले आरोप लगाए । रिजालले आफूले लगेको जग्गाधनी पूर्जा पनि वडा कार्यालयमै राखिदिएको र सिफरिस पनि नदिएको बताए ।
वडाअध्यक्ष पौडेलले भने विद्युत प्राधिकरणले लाइन काट्दा रिजालले फोन गरी ‘तेरो वडा कार्यालय ध्वस्त बनाइदिन्छु’ भन्दै धम्की दिएकाले सिफारिस नदिएको बताए । उनले भने–‘मलाइ धम्की आएपछि प्रहरीमा उजुरी गरेको र कारवाही नभएसम्म सिफारिस दिन्न भनेर पठाएको हुँ ।’

पीडित रिजालले गाउँमा विद्युत मिटरबक्स नै वितरण नभएकाले आफूमात्र नभइ गाउँका धेरै सेवाग्राही मिटरबिनै बिजुली बाल्न बाध्य भएको बताएका छन् ।


कोकिला ढकाल