किरिया बसेको स्थानबाट नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

  ०७४ मङ्सिर ५ गते

बुवाको किरियामा बसेका नेपाल कम्युष्ट पार्टीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

डिलाशैनी गाँउपालिका-३ रूद्रेश्वर बगडी निवासी जोशीलाई किरीयामा बसेकै बेला गिरफ्तार गरी बन्दी बनाएको पीडितका आफन्तले आरोप लगाएका छन् । पीडित परिवारका अनुसार नेकपामा संलग्न रहेकै कारण उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।

विभिन्न जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन विरोधी गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई गिरफ्तार गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । 'किरिया बसेकै अवस्थामा होइन । किरिया सकिएपछि मात्रै उनलाई गिरफ्तार गरेका हौँ ।'-उनले भने ।

बुवाको निधनमा किरिया बस्नुभएका जोशीलाई ११ औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै गिरफ्तार गरेको उनका भाइ अनिरूद्र जोशीले बताए । प्रहरीले यसअघि पनि बैतडीमा सो पार्टीका ६ जना नेता/कार्यकर्तालाई गिरफ्तार गरिसकेको छ ।


नरी बडु