कास्कीमा सातओटा मतदानस्थल अति संवेदनशील, आठओटा संवेदनशील

  ०७६ कात्तिक २५ गते

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ का सातओटा मतदानस्थल अति संवेदनशील र आठओटा मतदानस्थल संवेदनशील रहेका जिल्ला सुरक्षा समिति, कास्कीले जनाएको छ ।

कुल ३२ ओटा मतदानस्थलमध्ये १७ ओटा मतदानस्थल भने सामान्य रहेको समितिको निश्कर्ष छ । क्षेत्र नम्बर २ मा मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक तयारी गरिसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

विकट भूगोल, राजनीति प्रतिस्पर्धा, विरोधी समूहको व्यापक उपस्थिति हुन सक्ने स्थललाई अति संवेदनशीलको रूपमा लिइएको केसीको भनाई छ ।

पोखरा महानगरका ११ ओटा मध्ये १६, २०, २१ र २२ नम्बर वडामा सरकारद्वारा प्रतिबन्धित नेकपाले मतदाताहरूलाई डर त्रास फैलाउन सक्नेतर्फ सुरक्षा निकाय चनाखो बनेको केसीले बताए ।

प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन बहिष्कार गर्नेहरूको पहिचान गरी यथोचित व्यवस्थापन गर्न सुरक्षा समितिले योजना बनाइसकेको बताए ।

‘नागरिकहरूको चुनावमा भाग लिने र मतदान गर्न पाउने हकलाई बिथोल्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउँछौँ ।’–प्रमुख जिल्ला अधिकारी केसीले भने ।

३२ ओटा मतदानस्थलमा ८२ केन्द्र रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीले जनाएको छ ।

अघिल्लो पटक भएको प्रतिनिधि सभाको निर्वाचन भन्दा उपनिर्वाचनमा १ हजार २ सय २० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

एकजनाको उम्मेदवारी फिर्ता, तीनजनाको बदर
निर्वाचन कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले कात्तिक २४ गते अन्तिम नामावली प्रकाशन गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय, कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले उम्मेदवारी दर्ता गरेका उम्मेदवारमध्ये तीनजनाको उम्मेदवारी बदर भएको र एक जनाले फिर्ता लिएको जानकारी दिए ।

स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको सूचना अधिकारी न्यौपानेले बताए । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेको जनाएको छ ।

उनीहरूको नाम २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भएका कारण बदर भएको सूचना अधिकारी न्यौपानेले बताए ।


सुशन घिमिरे