काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

  ०७५ साउन २३ गते

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई साउन २२ गते ज्ञापनपत्र बुझाएका छन् ।

Photo20180808Gorkha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको अगुवाइ तथा जिल्ला मानव अधिकार सञ्जालको समन्वयमा जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापनपत्र बुझाइएको हो ।

गत साउन १० गते काशिगाउँका स्थानीय ५२ वर्षीय भिम गुरुङको मृत्यु कथित बोक्सीका कारण  भएको आरोपमा मृतकको शरीरबाट सर्प, भ्यागुता, छेपारोलगायतका जीवहरूको खोजी गर्न भन्दै शव चिरिएको थियो । ज्ञापनपत्रमा कथित बोक्सीको आरोपमा स्थानीय महिलाहरू उपर सामाजिक बाहिष्कार गर्ने, पानी नचलाउनेलगायतका दुर्ब्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

घटनाको तत्कालै अनुसन्धान र सत्यतथ्य पत्ता लगाई घटनाका दोषी उपर कानुनमा व्यवस्था भए बमोजिम कारबाही गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ । ज्ञापनपत्रमा त्यस प्रकारका घटनाले जिल्लामा निरन्तरता पाउने सम्भावनाको अन्त्य गरी कानुनी राज्यको मान्यतालाई स्थापित गर्न समेत सम्बन्धित सरोकारवालापक्षसँग अनुरोध गरिएको छ ।

सो घटनामा अनुसन्धान तथा आरोपित गिरफ्तार गर्न गएको प्रहरीलाई समेत हातपात गरेको र दोषीलाई पक्राउ गर्न नसकी प्रहरी रित्तै फर्कनु परेको घटनाले थप लज्जित बनाएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताए ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टराईले घटनाका दोषी पत्ता लगाई कारबाही गर्न प्रशासन नचुक्ने बताए । 'घटनाको अनुसन्धान जारी छ । पीडितलाई न्याय दिने कुरामा तपाइँहरूले पनि सहयोग गर्नुस् ।'-प्रजिअ भट्टराईले भने । जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख एसपी विमल बस्नेतले विस्थापित परिवारलाई स्थापित गर्ने र दोषी उपर कारबाहीका लागि घटनाको अनुसन्धान भइरहेको बताए ।


हरिराम उप्रेती