कार्यालयमै हातपात गरेको आरोपमा वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

  ०७६ साउन ३ गते

चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष ३७ वर्षीय सुरेश थापालाई गाउँपालिकाको कार्यालयमा काम गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर हातपात गरेको आरोपमा चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष ४३ वर्षीय अजय लुइटेलविरूद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पीडित पक्षले उजुरी दिएको छ ।

अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुङ्गानालाई समेत हातपात गर्ने धम्की दिएको अडियो रेर्कडसहित उजुरी दर्ता भएको छ ।

अडियोमा लुइटेलले थापालाई कुटेको र प्रमुख प्रशासकीय अधिकृत भगत र सुब्बा ढुङ्गानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।

आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताए ।

उनले गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेको र सुरक्षाका लागि उजुरी गरेको बताए ।

थापाको टाउको तथा गोडामा चोट लागेको छ । उनको उपचार सोही दिन घोराखोरी स्वास्थ्य संस्थामा भएको छ । थापा तथा धम्की पाएका कर्मचारी साउन १ गतेदेखि सदरमुकाममा बस्दै आएका छन् ।

लुईटेल विरूद्ध अडियोसहित उजुरी आएको डिएसपी पुष्पराज मल्लले बताए । उनले उजुरी र अडियो सुनेपछि लुईटेललाई हाजिर गराउन प्रहरी खटाइएको बताए । आरोपित लुईटेल मोवाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

लुइृटेल सम्पर्कमा आएपछि उजुरीमाथि छानविन गरेर मुद्दा दर्ता हुने डिएसपी मल्लको भनाई छ ।


शिवप्रसाद ढुङ्गाना