कार्यक्षेत्रमा रहेका प्रहरीमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ३० गते

कार्यक्षेत्रमा रहेका प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा समाजवादी पार्टीका नेता विराटनगर माहानगरपालिका-१४ का ४८ वर्षीय उमेश यादवलाई साउन २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरी साउन २८ गते राति विराटनगर महानगरपालिका रोडशेष चोकमा कार्यक्षेत्रमा रहेका प्रहरी जवान ३४ वर्षीय श्यामकुमार चौधरीमाथि कुटपिट गरेको यादवमाथि आरोप छ ।

गिरफ्तारीमा परेका यादवमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएस्पी राजकुमार खिइजुले बताए ।

रोडशेष चोकमा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाएपछि प्रहरीले यादव सवार मोटरसाइकललाई रोकेको थियो ।

मोटरसाइकलको पछाडि बसेका यादवले मोटरसाइकल रोकेपछि प्रहरी जवान चौधरीमाथि हातपात गरेको प्रहरीको भनाई छ ।

कानमा चोट लागि घाइते भएका प्रहरी जवान चौधरीको नोवेल अस्पतालमा उपचार गरिएको डिएसपी खिइजुले बताए ।

कार्यक्षेत्रमा रहेका प्रहरीमाथि कुटपिट भएपछि प्रहरीले पछाडि बसेका यादव र मोटरसाइकल चलाउने व्यक्तिलाई पनि गिरफ्तार गरेको थियो ।

मोटरसाइकल चालकको गल्ती नपाइएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । यादव गत स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयर पदमा उम्मेदवार बनेका थिए ।


इन्दिरा भट्टराई