कारागारलाई किताब अभियानमा इन्सेक प्रतिनिधि पनि सदस्य

०७५ पुस २७ गते

सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रहरी कार्यालयले १० ओटै जिल्लामा कारागारलाई किताब अभियान सुरू गरेको छ । यो अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखले पुस २५ गते आयोजना गरेको सर्वपक्षीय बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमितिको संयोजकमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेल, उपसंयोजक राधा मल्ल, सदस्य सचिव इन्स्पेक्टर प्रेमबहादुर क्षेत्री, सहायक प्रजिअ हरिबहादुर खत्री र कारागार प्रमुख जेलर जीतबहादुर खत्री पदेन सदस्य छन् ।

त्यसैगरी कारागारलाई किताब अभियानमा नागरिक समाजका तर्फबाट प्रतिनिधित्व गरेका ६ सदस्यहरूमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, अधिवक्ताहरू टीकाराम थापा, दीर्घराज अधिकारी, व्यापारीहरू रूपक थापा, राजेश हमाल र समाजसेवी निर्मला खड्का रहेका छन् ।

अभियानले जिल्लास्तरका स्थानीय साधन श्रोत खोजेर कारागारका लागि कितावहरू सङ्कलन तथा खरिद गर्न सकिने कारागारलाई किताब अभियान बारे प्रहरी इकाईहरूलाई गरिएको अवधारणा व्याख्या परिपत्रमा उल्लेख गरिएको छ ।

कारागारका कैदीबन्दीलाई बन्दी अवस्थामा पनि अध्ययनको बानी बसाल्ने र सकारात्मक सोचको विकास गराउँदै कैद सकेर समाजमा फर्कँदा पुनस्र्थापना हुन सहज बनाउने उद्धेश्यले कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताव अभियान सुरू गरेको डिएसपी पोखरेलले प्रष्ट्याए ।

नयाँ भवनमा कैदीबन्दी सारिएको ४ वर्षदेखि नै दैलेख कारागारमा पुस्तकालय चलिरहेको बेला कर्णाली प्रदेश प्रहरीको यो अभियान अरू जिल्लाको तुलनामा अझ बढी प्रभावकारी हुने दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

दैलेख कारागारको पुस्तकालयमा इन्सेकले कारागार प्रशासनको माग अनुसार गत वर्ष धार्मिक पुस्तक र कानुनी किताव उपलब्ध गराएको थियो । इन्सेकले कारागारलाई मानव अधिकारसम्बन्धी पुस्तकहरू पनि उपलब्ध गराउँदै आएको छ ।

दैलेख कारागारमा जेलर जीतबहादुर खत्रीको अग्रसरतामा आध्यात्मिकताका लागि मन्दिर निर्माणको काम चलिरहेको, विहान योगा अभ्यास हुनुका साथै रचनात्मक कार्यहरू सुरू गरिएको छ ।


अमर सुनार