कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई प्राथमिक उपचारमा समस्या

  ०७६ मङ्सिर २ गते

जिल्ला कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीहरूलाई प्राथमिक उपचारमा समस्या भएको छ ।

कारागारमा चौथो, पाँचौ र छैठौँ तहका स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि ०७६ साल असोज २८ गतेदेखि कुनैपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या भएको हो ।

२५ जना क्षमता रहेको पर्वत कारागारमा मङ्सिर २ गतेसम्म ७७ कैदी र १८ थुनुवा(बन्दी) गरी ९५ जना कैदीबन्दी रहेका छन् ।

‘यसै त क्षमता भन्दा चौगुणा कैदीबन्दीको सङ्ख्या छ । त्यसैमा पनि स्वास्थ्यकर्मी छैनन् ।’–कारागारमा कार्यरत निमित्त प्रमुख हरिकृष्ण शर्माले भने–‘स्वास्थ्यकर्मी नभएपछि सामान्य विरामी परेपनि सुरक्षाकर्मी र कर्मचारीको मद्धतले अस्पताल बोकेर लैजानुपर्ने अवस्था छ’

पर्वत कारागारमा पाँचौतह(हेल्थ असिस्टेण्ट)को स्वास्थ्यकर्मी असोज २८ गतेसम्म रहेपनि कर्मचारी समायोजन प्रक्रियाका कारण सरूवा भएपछि हालसम्म स्वास्थ्यकर्मी आएका छैनन् ।

हाल कारागारमा रहेका कैदीबन्दीमा चिसोका कारण छाति दुख्ने, पेट दुख्ने, टाउको दुख्ने, रुघाखोकी लगायतका समस्या देखिँदा पनि कारागार प्रशासनले अस्पतालमा नै लगेर उपचार गराउँदै आएको शर्माले बताए ।

नयाँ स्वास्थ्यकर्मीका रूपमा विभागबाट सिनियर अहेब पठाउने गरी पत्राचार भएपनि हालसम्म कुनै स्वास्थ्यकर्मी सम्पर्कमा नआएको शर्माले बताए ।


सन्तोष थापा