कारागारमा समस्यै समस्या, कोचिएर बस्न बाध्य छन् कैदीबन्दी

  ०७६ असोज १८ गते

जिल्ला कारागारका कैदीबन्दी कोचिएर बस्न बाध्य छन्  । कारागारको क्षमताभन्दा कैदीबन्दी दोब्बर बढी भएकाले उनीहरू कोचिएर बस्न बाध्य भएका हुन् ।

२५ जना क्षमता भएको कारागारमा अहिले ५२ जना कैदीबन्दी छन् । जसमा ३८ जना कैद भुक्तान गरिरहेका छन् भने १३ जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।

क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले उनीहरूलाई बस्न, सुत्न, खान, स्वास्थ्योपचारमा समस्या देखिएको चौकीदार देवबहादुर पुनले बताए ।

उनले भने–‘बसोबासका साथै खानेपानी समस्या छ । धेरैजना एकै ठाउँमा हुने भएकाले स्वास्थ्यमा पनि समस्या आउने गरेको छ ।’

भवन पनि जीर्ण र पानी पर्दा चुहिने भएकाले समस्या झन् थपिएको उनले बताए । २०४० सालमा स्थापना भएको कारागारमा आवश्यकभन्दा बढी कैदीबन्दी राख्नुपर्दा असहज भएको जेलर अनिलकुमार तिवारीले बताए ।

‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या त आउने नै भयो । बस्ने–खानेदेखि सबै व्यवस्थापनमा समस्या छ ।’–उनले भने–‘तर पनि हामीले मिलाएर राखेका छौँ । दुई ओटा ब्लक रहेकामा ठूलोमा ३० देखि ३५ जनासम्म र अर्कोमा बाँकीलाई राख्छौँ ।’

सबैलाई एकै ठाउँमा व्यवस्थापन गर्दा रोगको सङ्क्रमण हुने सम्भावना पनि उत्तिकै रहेको उनको भनाई छ ।

कारागारमा महिला कैदीबन्दी भने राखिएको छैन । बैतडीका महिला कैदी–बन्दीलाई डडेल्धुरा र धनगढीका कारागारमा पठाउने गरिएको जेलर तिवारीले बताए ।


नरी बडु