कारागारमा रहेका बालबालिकालाई पोषणयुक्त खानाको अभाव

  ०७३ भदौ २८ गते

जिल्ला कारागार मोरङमा आमासँगै आश्रति रहेका बालबालिकाको लागि पोषणयुक्त खानाको अभाव भएको छ ।

विभिन्न कारणले कारागारमा परेका आमासँगै आएका तथा कारागार भित्रै जन्मिएका बालबालिकाको लागि राज्यले पोषिलो खानाको व्यवस्था नगर्दा उनीहरूलाई पोषणयुक्त खानाको अभाव भएको हो ।

राज्यले कैदीबन्दीहरूका लागि दैनिक रूपमा उपभोग गर्न चामल तथा पैसा दिने भएपनि आमासँगै आश्रति बालबालिकाका लागि चाहिने आवश्यक पोषणयुक्त खानाको व्यवस्था नहुँदा बालबालिकाको वृत्ति विकासमा समस्या भएको महिला बन्दी गृहकी चौकीदार जन्नत खातुनले बताइन् ।

आमासँगै अहिले कारागारमा चार जना बालबालिका रहेका छन् भने एक जना महिला गर्भवती रहेको समेत चौकीदार जन्नतले बताइन् । बालबालिकाको लागि छुट्टै व्यवस्था नहुँदा समस्या भएको कैदी चन्द्रा राईले बताइन् ।

दुई वर्ष अगाडि कारागारमा रहेकै बेला छोरा जन्मिएपछि राम्रो खानपानको समस्या भएको कैदी कविता राई मगरले गुनासो गरिन् । उनले पोषणयुक्त खाना दिन नसक्दा बच्चामा राम्ररी विकास नहुने हो की भन्ने चिन्ता भएको बताइन् ।

कारागारका स्वास्थ्यकर्मी अञ्जनी पोखरेलले बालबालिकाका लागि छुट्टै व्यवस्था नभएको बताउँदै समस्या भएको बताए । उनले सधैं पोषिलो खानेकुरा खुवाउनुपर्ने बालबालिकाका लागि यसको व्यवस्था नहुँदा उनीहरूको सर्वाङगीण विकासमा समेत असर हुने खतरा रहेको बताए ।


इन्दिरा भट्टराई