कारागारमा भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा कठिन

  ०७६ साउन ३० गते

जिल्ला कारागार कास्कीमा साउन २० गतेदेखि भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा ल्याउन समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

दुई ब्लक रहेको कारागारको 'ए' ब्लकमा रहेका झण्डै ८० जनाभन्दा बढी कैदीबन्दीमा देखिएको भाइरल ज्वरोको सङ्क्रमणबाट 'बि' ब्लकमा रहेका ७० जना कैदीबन्दीमा पनि सरेको कारागारका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद सुवेदीले बताए ।

कारागारमा 'ए' र 'बि' गरी पुरुष कैदीबन्दीका लागि दुईओटा ब्लक छन् । दुवै ब्लकको क्षमता ४ सयजना हो भने महिला कैदीबन्दीका लागि २० जना क्षमताको अर्को एउटा ब्लक छ ।

ब्लक 'ए' मा हाल ३ सय ७४ जना र ब्लक 'बि' मा ३ सय ७८ जना कैदीबन्दी छन् । महिला ब्लकमा भने ५७ जना गरी कुल ८ सय ९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

भौतिक पूर्वाधारको अभावका कारण साँघुरो ठाउँमा धैरैजना बस्दा सरूवा रोग सहजै सर्ने गरेको जनस्वास्थ निरीक्षक सुवेदीले बताए ।

'उपचारका लागि छुट्टै कक्षको व्यवस्था छैन । ठूलो सङ्ख्यामा कोचेर बन्दी राख्नुपर्ने बाध्यताका बीच स्वास्थ्य उपचारको सवाल झन् जटिल छ ।'-जनस्वास्थ निरीक्षक सुवेदीले भने ।

भाइरल ज्वरोको सङ्क्रमणको उपचार एक्लैले नियन्त्रण गर्न निकै कठिन भएको उनले सुनाए । सुवेदीका अनुसार साउन २९ गते गरिएको चेकजाँचमा ४० जनालाई सामान्य सङ्क्रमण देखिएको छ । यद्यपी पूरै नियन्त्रणमा आउन केही समय लाग्ने उनी बताउँछन् ।

एकजना मात्रै स्वास्थ्यकर्मीलाई सबै जिम्मेवारी दिँदा माहामारी जस्ता सङ्क्रमण फैलिसकेपछि कारागार नै अस्तव्यस्त हुने स्थिति हुने भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी सङ्ख्या बढाएर स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म चासो नदिइएको सुवेदीको गुनासो छ ।

'पुराना कारागारमध्ये कास्की कारागार पनि पर्छ । यति धेरै कैदी तथा थुनुवाको सङ्ख्या छ । स्वास्थ्य समस्या देखिँदा भने जनशक्तिकै अभावका कारण सकस परिरहेको छ ।'-उनले भने ।

हेल्थ असिस्टेन्टको दरबन्दीमा ९ वर्षअघिदेखि कास्की कारागारमा स्वास्थ्य सेवा दिँदै आएका सुवेदी हाल जनस्वास्थ्य निरीक्षकमा बढुवा भइसकेका छन् ।

'पहिले पो बन्दी सङ्ख्या थोरै थियो । अहिले त्यो अवस्था छैन । कम्तिमा पनि प्राथमिक स्वास्थ्योपचार दिन सक्ने क्षमता कारागारमा बनाउनुपर्छ ।'-सुवेदीले भने ।

कारागारमा हेल्थ असिस्टेन्ट पदमा एक जनाको दरबन्दी भएपनि घटाएर अहेबको दरबन्दी कायम गरिएको छ ।

कारागार प्रमुख गणेश गौतमले कारागार व्यवस्था विभागले कास्की कारागारमा रहेका बन्दी सङ्ख्याको आधारमा स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिदिए सहज हुने बताए ।

'४० जना बन्दी रहेको कारागारमा एक जना अहेब हुन्छ भने ८ सय जना भएको कारागारमा पनि १ जना अहेब राख्दा अपर्याप्त हुन्छ ।'-उनले भने-'एउटै खालको दरबन्दी सिर्जनाले समस्या भएको छ ।'

कारागारमा २४ घन्टै स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने हुँदा स्तरअनुसारको दरबन्दी कायम गरिनुपर्ने कारागार प्रमुख गौतमको भनाइ छ ।


सुशन घिमिरे