कारागारमा छैनन् स्वास्थ्यकर्मी , हचुवामा औषधि खान्छन् कैदीबन्दी

  ०७६ कात्तिक २९ गते

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दी कारागारमा स्वास्थकर्मी नहुँदा हचुवामा औषधि सेवन गर्न बाध्य छन् ।

विभिन्न अपराधिक घटनाहरूमा अदालतबाट दिएको सजाय भूक्तान गरिरहेका कारागारका कैदी र अदालतको फैसला कुरिरहेका बन्दीलाई स्वास्थ्य समस्या देखिनासाथ कारागारमा तत्काल उपचार सुविधा छैन ।

कारागारमा दुईजना स्वास्थ्य सहायक (एचए) को दरबन्दी भएपनि एक वर्षदेखि दुवै पद रिक्त छन् । कर्मचारी समायोजनको क्रममा भएको दरबन्दीपनि अन्यत्र सरुवा भएर गएपछि कारागारमै रहेका सामान्य स्वास्थ्य सेवाबारे जानकार कैदीबन्दीबाटै सामान्य औषधि वितरण गरिँदै आएको छ ।

संविधानले सबै नागरिकलाई न्यूनतम स्वास्थ्योपचारको हक प्रत्याभूत गरेको भए पनि यहाँका कैदीबन्दीले सहजै स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

लामो समयदेखि कारागारको स्वास्थ्य विभागमा रहेको दरबन्दी रिक्त हुँदा कदैबन्दीले सहज स्वास्थोपचार नपाएका हुन् ।

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी बिरामी परे नजिकै रहेको भीमफेदी स्वास्थ्यचौकी लगिन्छ । त्यहाँबाट रिफर भए हेटौँडा अस्पताल लाने गरेको कारागारका नायब सुब्बा केदार सापकोटाले बताए ।

दरबन्दी अनुसारका स्वास्थकर्मीको पदपूर्तिको लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सङ्घीय सरकारको सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएपनि स्वास्थ्यकर्मी नपठाएको सापकोटाले बताए ।

कारागार स्वास्थ्य शाखामा निःशुल्क उपलब्ध हुने औषधि पनि अभाव छ । दैनिक खानुपर्ने औषधि कैदीबन्दीले आफैँ किनेर खाइरहेको कारागारका आन्तरिक प्रशासन प्रमुख(नाइके) सुरेशकुमार मोक्तानले बताए ।

प्रेसर, सुगरलगायत नियमति सेवन गर्नुपर्ने औषधि कैदीबन्दीलाई सरकारले व्यवस्था गर्नुपर्ने ऐनमै व्यवस्था भए पनि यहाँका कैदीबन्दी यसबाट वञ्चित छन् । हाल भीमफेदी कारागारमा २ सय ८० बन्दी र ७ सय २१ कैदीसहित १ हजार १ जना छन् ।


पुष्पराज अधिकारी