कारागारमा खानेपानी समस्या, कैदीबन्दीलाई शौचालय प्रयोग र नुहाउन असहज

  ०७६ फागुन १७ गते

जिल्ला कारागार रुकुम पश्चिममा खानेपानीको समस्या हुँदा कैदीबन्दीलाई शौचालय प्रयोग र नुहाउन समस्या भएको छ ।

कारागारमा एउटा मात्रै धारा भएको र हाल उक्त कारागारमा १ सय २० जना कैदीबन्दी रहेकाले पानी नपुग्ने गरेको कैदीबन्दीले गुनासो गरेका छन् ।

कारागारमा रहेको त्यस धारामा साँझ र बिहान एक/एक घण्टा मात्र पानी आउने गर्दा पानी अपुग भएको कारागार व्यवस्थापनले जनाएको छ । दिनमा दुई घण्टा मात्र धारामा पानी आउँदा खान मात्र पुग्ने शौचालय र नुहाउन तथा कपडा धुन समेत समस्या भएको जेलर गौमता पुनले बताउनुभयो ।

एउटा मात्र धारा भएपनि दिनभर पानी आउने व्यवस्था भए काम चल्ने उहाँको भनाइ छ । पानीको व्यवस्थापनका लागि मुसिकोट नगरपालिका र वडा कार्यालयमा माग गरिएको जेलर पुनले बताउनुभयो । खानेपानीको धेरै समस्या भएपछि प्रदेश सभाका सभाषद रातो कामीसँग कारागारमा खानेपानीको समस्या भएको जानकारी गराएपछि उहाँले आफ्नो संसद विकास कोषबाट खानेपानी संचितको लागि दुईवटा टयाङ्की निर्माण गरीदिने प्रतिबद्धता जनाएको जेलर पुनले जानकारी दिनुभयो ।
खानेपानीको लाइनमा अहिले सडक निर्माण पनि भइरहेकाले बेलाबेला अवरुद्ध हुने समस्या पनि थपिएको छ ।

कारागारको क्षमता २५ जनाको भएपनि क्षमताभन्दा पाँच गुणा कैदीबन्दी रहेका छन् । अहिले जिल्ला कारागारमा १ सय २० जना कैदीबन्दी रहेका छन । क्षमता भन्दा कढी कैदीबन्दी हुँदा खानेपानीका साथै खान, बस्न समेत समस्या भएको छ । कारागारमा पुरुषतर्फ १ सय १३ र महिलातर्फ सात जना कैदी बन्दी रहेका छन् । २०४१ सालमा निर्माण भएको जिल्ला कारागार ‘घ’ वर्गको हो । कारागारको संरचना अहिलेसम्म उस्तै छ । थोरै बन्दी राख्न बनाइएको कारागारमा यति धेरै राख्दा समस्या भएको जेलर पुनले जानकारी दिनुभयो । धेरै संख्या भएकाले समस्या समाधान हुन नसकेको र कैदीबन्दीलाई खान बस्न र शौचालयको समेत समस्या भएको उहाँले बताउनुभयो । ठाँउ अभावका कारण खान र बस्न समेत पालैपालो गर्नुपर्ने अवस्था रहेको कैदीको गुनासो छ ।

 


मनिषा के सी