कारागारमा खानेपानीको समस्या हुँदा कैदीबन्दी मर्कामा

  ०७६ असार २८ गते

जिल्ला कारागार रोल्पामा खानेपानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । साँझ बिहान थोरै समय मात्र पानी आउने भएकाले बाल्टीमा जम्मा गरेको पानीले एक दिन एक रात पुर्‍याउनुपर्ने हुन्छ ।

पानीको अभावले खाना पकाउन, नुहाउन, कपडा धुन र शौचालय जान समस्या रहेको थुनुवा खैराम महराले बताए । ‘एक जनाले एक बाल्टी पानीले पुर्‍याउनुपर्ने हुन्छ’–उनले भने ।

२०२९ सालमा स्थापना भएको कारागारको भवन जीर्ण छ । ‘घ’ श्रेणीको रोल्पा कारागार ५० जना क्षमताको भएतापनि अहिले ८२ जना कैदीबन्दीहरू रहेका छन् ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले कारागारमा मात्र नभई सदरमुकाम लिबाङमै खानेपानीको समस्या रहेको बताए ।

‘यो समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौँ ।’–नगर प्रमुख केसीले भने–‘भर्खर मात्र साना शहरी खानेपानी परियोजनासँग बृहत खानेपानी आयोजनाका लागि सम्झौता भएको छ ।’

अबको तीन वर्षमा सदरमुकाम रहेको लिबाङका सबै घरमा प्रशस्त खानेपानीको व्यवस्था हुने उनको भनाई छ ।


माधवकुमार ओली