कारागारमा क्षमता भन्दा कैदीबन्दी बढी, पाल मुनि बास

  ०७७ साउन १५ गते

जिल्ला कारागार सल्यानमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि पाल मुनि सुत्नु पर्ने बाध्यता भएको छ ।

दैनिक रुपमा नयाँ कैदीबन्दी थपिएसंगै कोठा अभावमा बाहिर नै पाल टाँगेर सुत्नु पर्ने र मानिसको चाप बढ्दै गएकाले जताततै फोहोरको अवस्था भएको कारागारका चौकीदार हरिलाल अधिकारीले बताउनुभयो ।

कारागार प्रशासनका अनुसार २० जना कैदीबन्दी राख्ने क्षमताकोे उक्त कारागारमा कोच्चिएर बस्दा पनि ४० जना सम्म राख्न सक्ने अवस्था हो । तर हाल तीन नाबालक, १ सय १४ जना पुरुष र १८ जना महिला रहेका छन् ।

जेलर बल बहादुर केसीले भन्नुभयो ‘कैदीबन्दीको संख्या धेरै छ, हामीसँग पुरुषको लागि ६ वटा र महिलाको लागि २ वटा कोठा मात्रै छन । रातको समयमा भान्साकोठा देखी कोलिया हुँदै ढोकासम्म लाइन लगाएर सुताउँदा पनि ठाउँ नपुगेर बाहिर त्रिपाल टाँगेर सुताउनुपर्ने बाध्यता छ ।’

कारागार जिर्ण र साँघुरो रहेका कारण कार्यालयको अन्य काम प्रभावित भइरहेको र सुरक्षामा खटिएका प्रहरीलाई समेत समस्या हुने गरेको जेलर केसीको दुःखेसो छ ।

केसीले भन्नुभयो ‘यहाँ रहेका कैदीलाई सरुवा गर्दा पनि जिल्ला छोडी बाहिरको जिल्ला जान मान्दैनन्, समयमै हामी सरुवा लगायतका प्रक्रिया पुरा गरेर व्यवस्थापन गर्ने तयारीमा छौं ।’


मिना बुढाथोकी