कारागारमा कैदीबन्दी बिरामी हुँदा उपचारमा कठिनाइ

  ०७६ असोज २ गते

इलाम कारागारमा रहेका कैदीबन्दीमध्ये ७६ जना एकै पटक बिरामी भएपछि उपचार गर्न कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका एक जनामात्र स्वास्थ्यकर्मीले सबै बिरामीको उपचार गर्न समस्या भएको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार एक सातादेखि रूघाखोकी, ज्वरो र बान्ताका बिरामी बढेका छन् । ठूलो सङ्ख्यामा बिरामी भएपछि सबैलाई उपचार गर्न अस्पताल पठाउनै समस्या भएको श्रेष्ठले बताए ।

कारागार प्रशासनले सबै बिरामीलाई अस्पताल पठाउन गाडीको व्यवस्थापन र खर्च आफैँ गर्नुपर्ने हुन्छ । तर, कारागारलाई मन्त्रालय र विभागबाट दिइएका दुई थोत्रा सवारी साधन दुवै काम नलाग्ने भएपछि समस्या भएको हो ।

श्रेष्ठले भने–‘भाडामा लिएको एउटा गाडी कैदीबन्दीलाई अदालत पठाउँदै ठिक्क हुन्छ । बिरामी पठाउन सकिएको छैन ।’

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा र बिरामी हुँदा उपचारमा मात्र नभएर खानेपानी, शौचालय प्रयोगमा पनि कठिनाइ भएको चौकीदार प्रेमवाला राईले बताए ।

राईले बिरामीलाई सुत्न समस्या भएको बताए । कारागारमा अहिले २ सय ३८ पुरूष र २१ महिला तथा दुई जना आश्रित बालक रहेका छन् ।


कोकिला ढकाल