कारागारमा कैदीबन्दी बढेसँगै बिरामीको सङ्ख्यामा बृद्धि

  ०७६ असार १९ गते

संख्या बढेसँगै तनहुँ जिल्ला कारागारमा कैदीबन्दी बिरामी पर्न थालेका छन् । ३५ जनाको क्षमता रहेको सो कारागारमा अहिले १ सय ३९ जना कैदीबन्दी रहेका छन् ।

क्षमता भन्दा तीनगुणा बढी कैदीबन्दी हुँदा सुत्न बस्न समस्या भएपछि कैदीबन्दी बिरामी पर्न थालेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।

कैदीबन्दीमा अहिले छालासम्बन्धी रोग, रुघाखोकी र झाडा पखालाको समस्या देखिएको छ । बिरामीहरूलाई कारागारले परिसरभित्रै स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।

जटिल समस्या देखिए दमौली अस्पताल या पोखराका अस्पतालमा उपचारको लागि लैजाने व्यवस्था पनि भएको निमित्त प्रमुख अधिकारीले बताए ।

कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षणको लागि जिल्ला स्वास्थ्य कार्यालयले एक जना हेल्थ असिस्टेन्टको दरबन्दीको व्यवस्था गरेको छ ।

हेल्थ असिस्टेन्ट सक्षम घिमिरेले पनि अहिले गर्मी बढेपछि कैदीबन्दीमा सरूवा रोगका बिरामी बढेको बताएकी छन् ।

कैदीबन्दीलाई सुत्न बस्न साँघुरो भएको कारण सरूवा रोगहरू चाँडै नै धेरै जनामा सङ्क्रमण हुने घिमिरेको भनाई छ ।

क्षमताभन्दा धेरै कैदीबन्दी भएको कारण उनीहरूको व्यवस्थापनमा निकै समस्या भएको निमित्त प्रमुख अधिकारीले बताए ।

केहीलाई अन्यत्र जिल्ला कारागारमा स्थानान्तरण गर्न सकेमा सहज हुने भएकोले स्थानान्तरणको लागि पहल भइरहेको अधिकारीले जानकारी दिए ।

जिल्ला कारागारमा सबैभन्दा धेरै बलात्कार मुद्दाका ४४ जना कैदीबन्दी रहेका छन् । क्षमता भन्दा धेरै भएपछि कैदीबन्दीलाई बिहान शौचालय जान निकै समस्या पर्ने गरेको उनीहरूले गुनासो छ ।


प्रकाशचन्द्र भट्टराई