कारागारका महिलालाई सेनेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण

  ०७६ माघ १५ गते

कारागारका कैदी बन्दीको समस्यालाई मध्यनजनर गर्दै शारदा नगरपालिकाले महिला कैदीबन्दीका लागि सेनेटरी प्याड र उनीहरूसँगै बस्ने बालबालिकालाई शैक्षिक सामाग्री माघ १५ गते वितरण गरेको छ ।

कारागारमा रहेका महिला बन्दी र उनीहरूसँगै रहेका बालबालिकाका विषयमा इन्सेक प्रतिनिधिले शारदा नगरपालिकाको ध्यानाकर्षण गराउँदै इन्सेक अनलाइनमा नियमित समाचार प्रकाशन गरेपछि उक्त सामाग्री वितरण गरिएको हो ।

नगर प्रमुख सुरेश अधिकारीले कारागारमा रहेका महिला कैदी र उनीहरूका बालबालिकालाई सहज होस भनेर सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । कारागारमा रहेका चार जना बालबालिका मध्ये विद्यालय उमेर पुगेका दुई जना बालबालिकालाई अध्ययन गर्न सहयोग पु¥याउने उद्देश्यले एक थान ह्वाइट बोर्ड, तीन दर्जन कपि, पेन्सिल र मार्कर वितरण गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

यस्तै कारागारमा रहेका १८ जना महिला कैदी बन्दीका लागि एक वर्षसम्म पुग्ने सेनेटरी प्याड वितरण गरिएको उहाँले बताउनु भयो । उहाँले केही दिन अघि इन्सेक अनलाइन लगायत अन्य केही अनलाइनमा कारागारमा घाम नलाग्दा महिलालाई महिनावारी भएको समयमा समस्या हुने गरेको समाचार प्रकाशन भएको र प्रत्यक्ष भेटका क्रममा पनि कैदी महिलाले प्याड र शैक्षिक सामाग्रीको माग गरेपछि सामाग्री हस्तान्तरण गरेको बताउनु भयो ।

सामाग्री वितरण गर्दै नगर प्रमुख अधिकारीले कैदी बन्दीको समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा कारागारका कैदीबन्दीलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । सामाग्री ग्रहण गर्दै कारागारका महिला कैदीबन्दीहरूले नगरपालिकाको यस कार्यलाई धन्यवाद व्यक्त गरेका छन् ।

कैदी जीवन विताइरहेका बाग्चौर नपा–७ कोटबारा निवासी टेकबहादुर रावत र गंगा रावतका दुई सन्तान ६ वर्षीया चेतना रावत र उनकी चार वर्षीया बहिनी वर्षा रावतलाई सामान्य अध्यापन गराउँदै आएकी बन्दी सलिना गहतराजले शैक्षिक सामाग्री पाएपछि अध्यापन गराउन सहज भएको बताउनुभयो ।

उहाँले विद्यालय जाने उमेरमा पनि यी बालबालिका पढाइबाट वन्चित भएको अवस्थामा यस विषयलाई समाचारमार्फत बाहिर ल्याउने भुमिका खेलेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।

कारागारमा महिलाहरू महिनावारी भएको समयमा सफा कपडा प्रयोग गर्न नसकेको अवस्थामा नगरपालिको यस सहयोगले आगामी दिनमा यौन संक्रमण हुनबाट जोगिने हुँदा यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

इन्सेक अनलाइनमा माघ ७ गते अभिभावकसँग सन्तानपनि सजाय भोग्दै भन्ने शिर्षकको समाचार प्रकाशित भएको थियो भने माघ ६ गते महिनावारीको समयमा स्वास्थ्य समस्या भोग्दै आएका महिला बन्दीको गुनासो शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

IMG_0331 IMG_0337IMG_0335


मिना बुढाथोकी