कारगारमा क्षमता भन्दा दोब्बर कैदी/बन्दी, खानेपानी र शौचालयको समस्या

  ०७६ पुस २९ गते

कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण सुत्नखानेपानी र शौचालयको समस्या रहेको छ ।

२ सय १० जनाको क्षमता रहेको ख श्रेणीको कपिलवस्तु कारागारमा क्षमता भन्दा दोब्बर ४ सय ७ जना कैदी/बन्दी रहेका छन् । कारागारमा  खानेपानी, शौचालय तथा औषधि उपचारमा समस्या आउने गरेको कैदी बन्दीहरूले गुनासो गरेका छन ।

४ सय ७ जनाकालागि जम्मा पाँच ओटा खानेपानीका धारा सञ्चालनमा रहेको र आठ ओटा मात्र शौचालय भएकोले  लाइनमा बस्नु पर्ने अवस्था रहेको कारागारका प्रमुख राकेश पाण्डेले बताउनु भयो । उहाँका अनुसार सुत्न पालो कुर्नु पर्ने र कोचिएर सुत्नुपर्ने अवस्था रहेको छ ।

 बि.स. १९९५ सालमा निर्माण भएको भवन जीर्ण अवस्थामा रहेकोले जोखिम मोलेर बस्नु परेको छ भने अर्को नयाँ भवन महिला र राजनितिक बन्दीहरूकालागि निर्माण गरिएको भए पनि महिला तथा राजनैतिक बन्दी नभएका कारण पुरुष कैदी बन्दीहरूलाई राखिएको छ ।

 पुरानो भवनमा १ सय र नयाँ भवनमा १ सय १० क्षमता रहेकोमा अहिले क्षमता भन्दा दोब्बर कैदी/बन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता छ । कारागारमा २ सय ५८ कैैदी र १ सय २५ थुनुवा गरी ४ सय ७ जना रहेका  छन् । ६० वर्ष माथिका ११ जना  पुरूष , दुई जना अपाङ्गता भएका र चार जना  मानसिक रोगका बिरामीसमेत रहेका छन् । सबै भन्दा बढी बलात्कारका ८६ जना  कैदी, २७ जना थुनुवा रहेकोमा ३ जना बिदेशी कैदी र १ जना थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।

 महिला तथा बालकलाई राख्ने व्यवस्था  नहुँदा अन्य जिल्लामा पठाउने गरेको छ ।  कैदी/बन्दीहरूको नियमित चेकजाँच तथा औषधि उपचारकालागि एक जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको भएपनि लामो समयदेखि दरबन्दी रिक्त रहेकोले दोहनी स्वास्थ्य चौकीबाट एक जना अहेव  १५ दिनमा एकपटक  चेकचाज गर्ने गरेको छ । नियमित चेकजाँच हुन नसक्दा एक पटक चार सय बिरामीलाई चेकजाच गर्न समस्या हुने गरेको प्रमुख पाण्डेले बताउनु भयो  ।

20200115012020011503


पार्वती आचार्य