काम समान, ज्याला असमान !

  ०७५ चैत १७ गते

जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।

गैँती र बेल्चा चालउने काम पुरूष र महिला दुवैले गर्ने गरेका छन् तर ज्याला पुरूषलाई बढी र महिलालाई कम दिने गरेको अमरगढी नगरपालिका-१ मालुमकी श्रमिक महिला मिना टमाटाले बताइन् ।

उनले भनिन–‘दिनभरी मरिमरी पुरूषहरूसँगै समान प्रकृतिको काम गर्छौँ । ज्यालामा विभेद गरिन्छ । घर जाँदा पतिको हप्काई खानुपर्छ ।’

अमरगढी नगरपालिका-५ की श्रमिक पार्वती साउदको पिडा पनि उस्तै छ । दिनभरी पुरुषहरु सरह काम गरेपनि ज्याला दिँदा पुरुषहरुको भन्दा महिलाहरुलाई कमै दिने गरेको उनले बताइन ।

उनले भनिन्–‘पुरुषलाई दैनिक ६ सय रुपियाँ ज्याला र महिलालाई ४ सय रुपियाँ मात्र ज्याला दिने गरेको छ ।’ पुरुषहरुको तुलानामा महिलाहरुले मेहनत र इमान्दारिका साथ श्रम गरे पनि ज्यालामा भने विभेद कायमै रहेको छ ।

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरक्षेत्र भित्र समान कामको फरक ज्याला भएको जानकारी गराएमा सरकारले तोके बमोजिमको ज्याला श्रमिकले पाउने वातावरण बनाउनका लागि आफूले पहल गर्ने बताए ।

उनले भने–‘नगरक्षेत्र भित्र हुने सम्पूर्ण निर्माण कार्यहरुमा नगरपालिकाले अनुगमन गरी ठेकदार र काम दिनेहरुलाई बराबर ज्यालाको व्यवस्था गराउँछौँ ।’

समान कामका लागि समान ज्याला पाउने कानुनी व्यवस्था भएपनि अहिलेसम्म कुनै पनि महिला श्रमिकहरुले ज्याला कम पाएको भनी प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी नआएको र उजुरी आएमा प्रशासन कार्यालय कारवाही गर्न तयार रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

हरेक वर्ष प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ज्याला निर्धारण समितिको बैठक बसी समितिले ज्याला निर्धारण गर्ने गरेको भए पनि सर्वसाधारण श्रमिकहरूले त्यसका बारेमा जानकारी नभएका कारण महिला श्रमिकहरू ज्यालामा ठगिँदै आएका छन् ।


भुपेन्द्र विष्ट