काम समान, ज्याला असमान !

  ०७६ वैशाख १८ गते

सङ्खुवासभाका महिलाहरूले समान काम गरे पनि आफूहरूमाथि ज्यालामा विभेद भएको गुनासो गरेका  छन् । मजदुरीदेखि विकास निर्माणका काममा कम ज्याला पाउँदै आएको उनीहरूलेृ गुनासो गरे ।

खाँदबारी नगरपालिका–१ की सङ्गीता नेपाली, दीपा अधिकारी, रमेश थापा र विमला भट्टराईले वडा नं. १ को पोखरी बजारबाट नगरपालिका कार्यालय जोड्ने सडक मर्मतका क्रममा सँगै काम गरे ।

उनीहरूले गर्ने काम एउटै भए पनि महिला र पुरुषको ज्यालामा फरक थियो । सीपका आधारमा रकम तोक्ने गरेकाले आफूहरूले कम ज्याला पाएको सङ्गीता नेपालीले बताइन् । उनले ठेकदार तथा स्थानीयले ज्यालामा विभेद गर्दै आएको बताइन् ।

आफूले धेरै स्थानमा मजदुरी गर्दा समान ज्यालाको कुरा उठाए पनि कसैले मतलव नगरेको बिमला भट्टराईको गुनासो छ ।

उनले महिला र पुरुषमा दैनिक ज्यालामा २ सय रुपियाँदेखि ३ सय रुपियाँसम्म फरक हुने गरेको बताइन् ।

पुरुषले मजदुरी गरेबापत दैनिक ७ सय रुपियाँ ज्याला पाए पनि आफूहरूले ५ सय रुपियाँ मात्र पाउने गरेको उनले गुनासो गरिन् ।

‘असमान ज्यालाका कारण मर्कामा पर्दै आएका छौँ ।’–दीपा अधिकारीले भनिन्–‘काम एउटै भएपनि ज्याला फरक हुँदा हाम्रो श्रमको सम्मान भएन ।’ उनले ठेकेदारले काममा बढी दबाब महिलालाई नै दिने गरेपनि पारिश्रमिक कम दिने गरेको बताइन् ।

चैनपुर नगरपालिकामा मजदुरी गर्दै आएकी बिन्दु पोख्रेलले समान ज्याला दिने भनेर सुरूमा काममा लगाए पनि ज्याला दिने बेलामा विभेद गर्ने गरेको बताइन् ।

उनले ज्याला कम हुँदा घर खर्च चलाउन मुस्किल भएको दुखेसो पोखिन् । श्रमको सम्मान गर्न नसकेका कारण आफूहरू अन्य कामकाजमा जस्तै ज्यालामा समेत पछि परेको उनले बताइन् ।

काम गर्ने क्रममा पुरुषले भन्दा महिलाले बढी दुःख पाउने गरेको उनले बताइन् । विकास निर्माणका काममा ५० प्रतिशत सहभागिता अनिवार्य भनिए पनि महिलाहरू सधैँ मारमा परेको उनको गुनासो छ ।

महिला अधिकारकर्मी लक्ष्मी ढुङ्गानाले आफूहरूले समान ज्यालाबारे आवाज उठाउँदै आएको बताइन् । कुनै काम गर्नुअघि पहिले दररेट तोकिने भएकाले महिलालाई समस्या आएको उनको भनाई छ ।

सङ्खुवासभामा विषेशगरी सडक निर्माण क्षेत्रमा रहेका मजदुरहरूले तोकिए अनुसारको ज्याला नपाएको बताएका छन् ।

श्रम ऐन २०७४ मा भएको व्यवस्था पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको क्युपेक नेपाल सङ्खुवासभाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

‘सडक तथा भौतिक संरचना निर्माणका क्रममा धेरै मजदुरहरू अङ्गभङ्ग भएका छन् । उपचार पाएका छैनन् ।’–श्रेष्ठले भने–‘महिला पुरूषबीच असमान ज्याला छ । दुवै श्रमिकले उचित ज्याला पाउन सकेका छैनन् ।’


बाबुराम बास्तोला