काम गरेको डेढ वर्षसम्म ज्याला नपाएको श्रमिकको गुनासो

  ०७६ असोज २९ गते

भेरी नगरपालिका–३ को भेरी ज्ञानोदय क्याम्पसमा काम गरेका श्रमिकहरूले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् ।

आफूहरुले ०७६ साल वैशाख देखी असार सम्म क्यााम्पसको भवन निर्माणका काम गरेको दुई लाख ४४ हजार ज्याला नपाएको भन्दै श्रमिकहरूले ०७७ असोज २१ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा उजुरी समेत दिएका छन् ।

भवन निर्माण कम्पनीका ठेकेदार तेज विक्रम शाह विरुद्ध दिएको निवेदन पउर १० दिन पुगि सक्क्दा पनि कुनै पहल नगरेको श्रमिक राजेश थारुले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नुभयो ।

‘लामो समयसम्म काम गरेर दशैं, तिहारमा घर जाँदा खाली हात जानु परेकोले खल्लो हुने भयो । आधा रकम पाएको भएपनि चाडपर्व मान्न हुन्थ्यो’ श्रमिक भक्त भण्डारीले दुःखेसो गर्नुभयो ।

क्याम्पसको भवनभित्र रहेका ४२ वटा शौचालय तथा बाथरुम फिटिङ गर्ने गरी दुई लाख ९४ हजार रुपैयाँमा राप्ती सोनारी गाउँपालिका –३ बाँकेका राजेश थारु तथा ठाकुरबाबा नगरपालिका–३ का भक्त भण्डारी र खेमराज भण्डारीले जिम्मा लिएका थिए ।

सम्पूर्ण काम ०७६ असार महिनामा सम्पन्न गरिएको भएपनि डेढ वर्ष वितिसक्दा पनि ५० हजार मात्र भुक्तानी लिएको अर्का श्रमिक खेमराज भण्डारीको भनाई छ ।

उजुरीपछि जिल्ला प्रशासन कार्यालयले भवन निर्माणका लागि मुख्य तालुकदार निकाय जिल्ला समन्वय समिति भएकाले श्रमिकको काम गरेको ज्याला भुक्तानीका लागि तत्काल ठेकेदारसँग समन्वय गरेर भुक्तानी गर्न गराउन ०७७ असोज २५ गते नै निर्देशन दिएकोे थियो ।

ठेकेदार शाहले आफूले श्रमिकहरुको पारिश्रमिक भुक्तानी गर्न बाँकी स्वीकार गर्दै र जिल्ला समन्वय समितिसँग बाँकि रहेको रकम भुक्तानी भए लगत्तै श्रमिकलाई दिइने बताउनुभयो ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले समन्वयबाट सम्भव नभए केहीदिनमा प्रहरी मार्फत ठेकेदारलाई झिकाएर श्रमिकको ज्याला भुक्तानी गरिने जानकारी दिनुभयो ।

यता समन्वय अधिकारी मेघराज पन्तले भवन निर्माणको सम्पन्न कामको रकम भुक्तानी भएको र केही काम बाँकी रहेकोले उक्त काम सम्पन्न नहुँदा सम्म रकम निकाशा गर्न नसकिने बताउनु भयो ।


दिनेशकुमार श्रेष्ठ