काम गरेको ज्याला नपाएको मजदुरको आरोप, विभिन्न निकायमा उजुरी

  ०७६ असोज ९ गते

नेपाल सरकारले गौरवको आयोजना भनेको कालीगण्डकी करिडोर सडकको बेनी–जोमसोम सडक खण्डमा काम गरेका मजदुरहरूले लामो समयसम्म काम गरेको ज्याला नपाएको गुनासो गरेका छन् ।

सो सडक खण्डमा ०७५ मङ्सिरदेखि ०७६ साउनसम्म काम गरेका ९५ जना मजदुरहरूले पाउनुपर्ने एक करोड, ११ लाख, १८ हजार, चार सय ७२ रुपियाँ ज्याला नपाएको भन्दै मजदुरहरूले संयुक्त रूपमा भदौ १३ गते नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)मा निवेदन दिएका थिए ।

मजदुरहरूको निवेदन पश्चात् जिफन्ट आफैँले समन्वयको भूमिका निभाउने प्रयास गरेपनि मजदुरहरूले तलब पाउन नसकेको भन्दै असोज ७ गते ठेकेदार कम्पनी युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियरिङ प्रालिलाई मजदुरले पाउनुपर्ने रकम उपलब्ध गराउन माग गर्दै निवेदन दिएको जनाएको छ ।

जिफण्टले असोज ७ गते नै जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय म्याग्दी, कालीगण्डकी करिडोर बेनी जोमसोम कोरला सडक आयोजना कार्यालय जोमसोम, शर्मा युनाइटेड बिल्डर्स जे.भि. साइड कार्यालय तिप्ल्याङ र नेपाल पत्रकार महासङ्घ म्याग्दीलाई समेत ज्यालाको रकम उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्दै पत्राचार गरेको छ ।

आफूले काम गरेको रकम लिनका लागि पटकपटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएपछि प्रहरी, प्रशासन तथा जिफन्टमा पनि उजुरी दिनु परेको बेनी जोमसोम सडक खण्डको तिप्ल्याङ क्षेत्रमा काम गरेका मजदुर हरिप्रसाद खड्काले बताए ।

तिप्ल्याङ खण्डमै काम गरेकी मजदुर उमादेवी घर्ती मगरले भनिन्–‘दसैँ आउनै लाग्यो काम गरेको पैसा माग्दामाग्दा आजित भयौँ । पैसा नपाएपछि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) मा काम गरेको हिसाब गरी दिलाइ पाउँ भन्ने निवेदन दिएका छौँ ।’

जिफन्ट, म्याग्दीका कार्यवाहक अध्यक्ष राजकुमार राईले मजदुरले पाउनु पर्ने रकम उपलब्ध गराउनका लागि विभिन्न निकायमा पत्राचार गरिएको जानकारी दिए ।

राईले भने–‘दसैँ नजिकिँदै छ, त्यसैले असोज ११ भित्र ज्याला पाउन भाग राख्दै हामीले सबैलाई पत्राचार गरेका छौँ । यदि भएन भने थप प्रकृयामा अगाडि बढ्छौँ ।’

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञानमणी ढकालले आवश्यक छलफलका लागि व्यवस्था भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी ढकालले दसैँभन्दा पहिल्यै मजदुरलाई उनीहरूको पारिश्रमिक उपलब्ध गराउनका लागि पहल थालिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्रप्रसाद मरासिनीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको बताए ।

उनले भने–‘ठेकेदारलाई बोलाएका छौँ । आवश्यक प्रकृयाका लागि दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने छौँ ।’


अमृत बास्कुने