काम गरेको चार वर्षसम्म ज्याला नपाएको श्रमिकको गुनासो

  ०७७ असोज १४ गते

छत्रकोट गाउँपालिका– ४ को श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेका श्रमिकहरूले चार वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । उनीहरूले ०७३ सालमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेको पुरै ज्याला नपाएको गुनासो गरेका हुन् ।

लामो समय ज्याला नपाएपछि श्रमिकहरूले छत्रकोट गाउँपालिका– ४ का वडाध्यक्ष डिलाराम न्यौपाने विरुद्ध न्यायीक समितिमा उजुरी समेत दिए ।  तर उजुरी दिएको डेढ महिना पुगे पनि उचित न्याय पाउन नसकेको श्रमिकहरूको भनाई छ । न्यौपाने ०७३ सालमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण समितिका अध्यक्ष हुनु हुन्थ्यो । ०७३ साउन २४ गते न्यौपानेको अध्यक्षतामा बसेको निर्माण समितिको बैठकले केन्द्रको पर्खाल लगाउने, पुरानो पर्खाल भत्काउने र जग खन्ने कार्यका लागि १ लाख १० हजार रुपियाँ  मानबहादुर चौधरीलाई निमार्णको जिम्मा दिने निर्णय समिति मार्फत गरिएको थियो । स्वास्थ्य केन्द्रमा पलम्बिङ्ग, इलेक्ट्रिोनिक र टायलको काम सन्तविर नेपालीलाई दिएको थियो ।

श्रृङ्गा स्वास्थ्य केन्द्रको पर्खाल लगाउने, पुरानो पर्खाल भत्काउने र जग खन्ने काम गरेका मानबहादुर चौधरीले निर्माण समितिबाट ५ लाख ११ हजार रुपियाँ पाउनु पर्ने चौधरीको दाबी छ । त्यस मध्ये १ लाख ८५ हजार रुपियाँ मात्रै पाएको पीडित निर्माण व्यावसायी चौधरीले गुनासो गर्नुभयो । चौधरीले लामो समय व्यक्तिगत रुपमा न्यौपाने र निर्माण समितिसँग रकम  मागे पनि पाउनु भएन । अन्तिममा घर धितो राखेर काम गर्ने श्रमिकलाई ज्याला दिएको  चौधरीले बताउनु भयो ।

न्यौपाने विरुद्ध न्यायको लागि न्यायीक समितिमा उजुरी दिएको पनि डेढ महिना पुगे पनि न्यायीक समितिले पनि कुनै न्यायीक छलफल नगरेको बताउनु भयो । सन्तविर नेपाली करिब डेढ लाखको काम गराएर ५० हजार रुपियाँ मात्रै दिएको गुनासो गर्नुभयो ।

उहाँले कामसँगै सामग्रीको समेत पैसा नदिएर चार वर्षसम्म वडाध्यक्षलेनै श्रमिकको शोषण गरेको आरोप लगाउनु भयो । आफुहरुले कार्यालय भन्दा निर्माण समितिले काम दिएकाले रकमपनि  समिति मार्फत नै पाउनुपर्ने नेपालीको तर्क छ ।

उहाँहरूसँगै अरू केही श्रमिकले पनि काम अनुसारको रकम पाएका छैनन् । छत्रकोट गाउँपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक नर्मदा भण्डारीले काम गरेर खाने श्रमिकहरूको श्रम शोषण गर्न नपाइने भएकाले वडाध्यक्ष न्यौपानेलाई छिटोभन्दा छिटो काम गरेको पैसा दिने वातावरण मिलाउन भनिएको बाउनु भयो् । उहाँले कार्यान्वयन गर्ने कार्यालयको बिभाजन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने दुबै निर्माण व्यावसायीको मृत्युको कारण समस्या बल्झिदै गएको बताउनु भयो ।

छत्रकोट गाउँपालिका – ४ का वडाध्यक्ष डिलाराम न्यौपानेले भने आफुलाई तत्कालिन शहरी विकास तथा भवन डिभिजन विभाग पाल्पाले समस्यामा पारेको बताउनु भयो । निर्माण व्यावसायीको मृत्यु भएपछि कार्यालयले पाल्पानै बोलाएर केन्द्रको बाँकी कामलाई १२ लाखमा सम्झौता गराएर ७ लाख मात्रै भुक्तानी दिएकाले काम गर्ने सबैको रकम दिन गाह्रो परेको न्यौपानेको भनाई छ । उहाँले निर्माण समितिलाई कार्यालयले सम्झौता अनुसारको रकम नदिएपछि सबैलाई कामको आधारमा दामासायीले धेरै थोरै रकम दिएको बताउनु भयो । ‘काम गर्नेले सबै पैसा नपाएको सत्य हो, कामको मुल्याङ्कन र भुक्तानी कार्यालयले गर्नुपर्छ मैले रकम दुरुपयोग गरेको प्रमाण भए कानुनले छोड्दैन ।,’ उहाँले भन्नुभयो । आफुहरूले धेरै पटक कार्यालयलाई फिल्डमा आएर सहजीकरण गर्न आग्रह गरे पनि नआएको बताउनु भयो ।


टोपलाल अर्याल