काभ्रेको पनौतीमा अनिश्चतकालीन कर्फ्यु

  ०७६ चैत ४ गते

जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती नगरपालिकाको पनौती बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले प्रदर्शन चर्किएपछि चैत ४ गते बिहान ९ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

प्रजिअ तिमिल्सिनाका अनुसार पनौतीको पूर्व शङ्ख जानेबाटोको चौकीसम्म आठसय मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको एक किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

खानीखोला गाउँपालिका–१ को श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ वर्षीय जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिकालाई चैत ३ गते बा ५ ख ५४८० नम्बरको ट्रिपरले ठक्कर दिँदा दुवै जनाको घटना स्थलमै निधन भएको थियो । टिपरको ठक्करबाट पैदलयात्री आमा छोरीको मृत्यु भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । झडपबाट प्रहरी र प्रदर्शनकारी दुवै तर्फका १० जना घाइते भएका छन् ।

प्रहरीतर्फ ४० वर्षीय सई वीरेन्द्र शाह, हवल्दारहरू ३५ वर्षीय दीलिप बुढाथोकी, ३३ वर्षीया सुनिता घिमिरे र ३७ वर्षीय मिनबहादुर थापा, प्रहरी जवानहरु २५ वर्षीय नवराज भारती र २७ वर्षीय ललित थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनकारीतर्फ चितवन घर भई पनौतीमा मजदुर गर्ने १७ वर्षीय सञ्जय चौधरी, पनौती नगरपालिका–७ का ४० वर्षीय हर्कबहादुर ग्याबा, १९ वर्षीय जीवराज तामाङ र २२ वर्षीय सरत तामाङ घाइते भएका छन् । घाइते सबैको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये हवल्दार दिलिप बुढाथोकीको ढाडमा गोली लागेको छ । ललित थापाको कम्मरमा चोट लागेको छ भने सई वीरेन्द्र साहको दाइने कुईनोमा चोट लागेको अस्पतालका नर्स मोनिका न्याइच्याइले बताउनु भयो ।

20200317Kavre1

यसैगरी घाइते भएका प्रर्दशनकारीतर्फ हर्कबहादुर ग्याबाको छातीमा गोलीको छर्रा लागेको छ । साजन चौधरीको छाती, घाँटी र कम्मरमा गोलीको छर्रा लागेको छ । दुवैलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी डिएसपी कुमारविक्रम थापाले जानकारी दिनुभयो ।  थापाका अनुसार जीवराज तामाङ दायाँ खुट्टामा गोली लागेको छ ।

घटनापछि स्थानीयले पनौती पार्क क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

photo20200317Kavre2  ञञPhoto20200317Kavre3


हिरामान तामाङ