काठमाडौँमै बम विष्फोट, उम्मेदवार थापासहित ११ जना घाइते

  ०७४ मङ्सिर १८ गते

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी मङ्सिर १८ गते बम विष्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-२ चपलीको भङ्गालमा बम विष्फोट भएको हो । मङ्सिर २१ गते हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनका लागि घरदैलो कार्यक्रममा रहेका बेला बम विष्फोट भएको महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाडौँका एआइजी जयबहादुर चन्दले बताए ।

बम विष्फोटमा परी गम्भीर घाइते भएकाहरूको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार भइरहेको छ । समान्य घाइतेहरू उपचार पश्चात घर फर्केका छन् । उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार ४० वर्षीय थापाको दाहिने कान र पिठ्यूँमा चोट लागेको छ । उनी उपचार पश्चात घर फर्किसकेका छन् ।

गम्भीर घाइते भएका ३५ वर्षीय राजकाजी श्रेष्ठ, ३२ वर्षीया रेनु बडुवाल र ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । समान्य घाइते भएका थापा, २७ वर्षीय जयराज लामिछाने, ४० वर्षीय ध्रुव खडका, ४७ वर्षीय पुर्णबहादुर श्रेष्ठ, २३ वर्षीय सुमन खडका, ४४ वर्षीय रविन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ र ५२ वर्षीय पशुराम थापा उपचार पछि घर फर्केको डा. आचार्यले बताए ।

बम विष्फोट घटनाबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले हिंसाको राजनीति नगर्न आग्रह गरेका छन् । 'मेरो चुनावी कार्यक्रमका बारेमा पूर्ण जानकारी भएका मान्छेबाटै योजनाबद्ध तरिकाले आक्रमण भएको हो ।'-थापाले भने-'हिंसात्मक राजनीति गर्नेलाई कारबाही होस् । मतदातालाई सुरक्षित भएको सरकारले आभास दिलाउनुपर्छ ।'

घटनामा संलग्न भएको आरोपमा प्रहरीले २२ जनालाई आजै गिरफ्तार गरी अनुसन्धान थालेको एआइजी चन्दले जानकारी दिए ।

यसैबिच काङ्ग्रेस केन्द्रीय समितिले घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको जनाउँदै काङ्ग्रेसले घटनामा संलग्नलाई तत्काल गिरफ्तार गरी कडा कारबाही गर्न माग गरेको छ ।

1

1

1

1


सुभाष साह