काठमाडौँमा डेङ्गुको सङ्क्रमण बढ्दो, झुल लगाएरै बिरामीको उपचार

  ०७६ भदौ २५ गते

काठमाडौँमा डेङ्गुको बढ्दो सङ्क्रमणसँगै उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ ।

काठमाडौँका अस्पतालमध्ये पनि सरूवा रोगको उपचारमा केन्द्रित रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरमीको सङ्ख्या बढी रहेको छ ।

Photo20190911Ktm (1)

भदौ २४ गतेसम्ममा ३ हजार ६ सय ७२ जनाले डेङ्गु परीक्षण गराएकोमा २ हजार ७४ जनमा डेङ्गु पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

यसरी डेङ्गु प्रभावितको चाप एकाएक बढ्दै गएपछि अस्पतालमा डेङ्गुका बिरामीकै उपचारका लागि भनेर २४ ओटा शैया समेत छुट्याइ बिरामीलाई झुल भित्रै राखेर उपचार गरिरहेको अस्पतालले जनायो ।

भदौ १ गतेदेखि २४ गतेसम्मको तत्याङ्क अनुसार १ सय ३२ जना डेङ्गुका बिरामी उपचारपछि घर फर्किएका र २३ जना बिरामी अस्पतालमै उपचाररत रहेको शुक्रराज ट्रपिकल तथा सेवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट अनुप बास्तोलाले बताए ।

Photo20190911Ktm (2)

भदौ २३ गते ४ सय ४६ जना ज्वरोका बिरामी रहेकोमा ३ सय ११ जना डेङ्गु प्रभावित रहेका थिए भने भदौ २४ गते ५ सय ४७ जना ज्वरोका बिरामी रहेकोमा २ सय २५ जना डेङ्गु प्रभावित रहेको अस्पतालका शाखा अधिकृत रुपनारायण खतिवडाले बताए ।

भदौ लागेदेखि बिरामीको सङ्ख्या अत्याधिक मात्रामा बढेको भएपनि सबै बिरामीलाई अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नरहेकाले उपचारमा समस्या भने नरहेको र परामर्शसहित बिरामीलाई औषधि दिएर घर पठाइएको प्रमुख कन्सल्टेण्ट बास्तोलाले बताए ।

उनका अनुसार सामान्यतया डेङ्गुको सङ्क्रमण फैलने समय भन्नाले वैशाखदेखि साउन मसान्तसम्मलाई बुझिए पनि पछिल्लो समय भदौ लागेसँगै डेङ्गु रोगका बिरामीहरूको सङ्ख्या बढ्दो रहेको छ ।

Photo20190911Ktm (3)

अस्पतालमा वैशाखदेखि साउनसम्म डेङ्गु रोगको परीक्षण गर्नेको सङ्ख्या १ हजार २ सय ७२ रहेको र त्यसमध्ये १ सय ४२ जनामा मात्र डेङ्गु पोजिटिभ भेटिएको भए पनि यो वर्ष डेङ्गु सङ्क्रमणका कारण कसैको पनि मृत्यु नभएको प्रमुख कन्सल्टेण्ट बास्तोलाले बताए ।

अन्य रोगबाट ग्रसित भएका बिरामीलाई डेङ्गु लागेको र पहिलो चरणमा नै उसको मृत्यु भएको खण्डमा त्यसलाई डेङ्गुको कारणले मृत्यु भएको भन्न नमिल्ने भएकाले भ्रमित समाचार प्रसारण नगर्न समेत उनले सबैमा आग्रह गरे ।

बिरामीको उपचारमा अस्पतालले निकै सजगता अपनाइ चिकित्सकहरूलाई परिचालन गरिएका कारण चाँडै नै यसलाई नियन्त्रणमा लिन सकिने अस्पतालले जनायो ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार नीलकण्ठ नगरपालिका-३ स्थित जिल्ला अस्पतालमा डेङ्गु सङ्क्रमणका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।

जिल्लामा डेङ्गुको सङ्क्रमण बढेसँगै हालसम्म २३ जनामा डेङ्गुको सङ्क्रमण देखिएकामा १० जना महिला रहेका र दुई जनालाई जिल्ला अस्पतालमा भर्ना गरी उपचरार गरिरहेको र दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पतालले जनायो ।

भदौ २४ गते पनि दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि उपचारका लागि अस्पताल मै राखिएको जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम बिकले बताए ।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका कारण लागातार ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घाँटी बस्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने भएकाले तत्कालै उपचार गराउनु पर्ने र सामान्य उपचारपछि निको पनि हुने जिल्ला अस्पतालका डाक्टर पुस्कर पन्तले बताए ।

डेङ्गु सङ्क्रमणका कारण बढी ग्रसित भएका बिरामीहरूलाई आइसियुमा नै राखेर उपचार गर्नु पर्ने भएकाले त्यस्ता बिरामीहरूलाई अस्पतालले काठमाडौँ पठाउने गरेको डाक्टर पन्तले बताए ।

जिल्ला अस्पतालमा डेङ्गु परीक्षण गर्ने किट जम्मा २५ ओटा मात्र रहेकाले सङ्क्रमणको शङ्का लागेर परीक्षणका लागि अस्पताल आउनेहरू सबैलाई व्यवस्थित तरिकाले परीक्षण गर्न नसकिएको डाक्टर पन्तले बताए ।

जिल्ला सदरमुकाममा केही दिनदेखि डेङ्गु नियन्त्रणका लागि नीलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका, बेनिघाट रोराङ गाउँपाकिलाले अभियानहरू सञ्चालन गरेको भएपनि हरेक दिन जिल्ला अस्पतालमा ज्वारो आएर र आफूलाई डेङ्गु लागेको अनुमान गरी आउने बिरामीको सङ्ख्या दैनिक २ सय भन्दा बढी रहेको अस्पतालले जनाएको छ ।


विमला पौडेल