काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

  ०७४ असोज १ गते

नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ राति ११ बजे आक्रमण गरेको एमालेले आरोप लगाएको छ ।

नगराइन नपा-८ का १८ वर्षीय इन्द्रकुमार पासवान, ३२ वर्षीय पहलाद पासवान, ३५ वर्षीय अरविन्द पासवान, विरेन्द्र राउत र ललन दासलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू परमेश्वर यादव र महेन्द्र यादव, कासिन्द्र यादवलगायतले कुटपिट गरेको स्थानीय सुर्यदेव राउतले आरोप लगाए ।

घाइतेहरूको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । इन्द्रकुमार पासवान गम्भीर घाइते भएका छन् । नेपाली काङ्ग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ता ललन दासको शरीरमा पानपराग खाएर थुकेपछि किन यस्तो गरेको भन्दा उल्टै उनीहरूले कुटपिट पीडित पक्षको आरोप छ ।

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले लाठी प्रहार गरी एमाले कार्यकर्तालाई कुटपिट गरेको आरोप छ । बोहर्वा प्रहरी चौकीका असई कृष्ण साहको समेत उपस्थितिमा रकम बाँड्न खोजेकोमा प्रहरीले एक पक्षीय रूपमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई उल्टै साथ दिएको एमालेका कार्यकर्ताहरूको आरोप छ ।

निर्वाचनको विषय भन्दा पनि व्यक्तिगत रिसिइवीले झैझगडा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविन धितालले बताए । चुनाव सम्पन्न भएपछि दोषीलाई कानुनी दायरामा ल्याउने डिएसपी धितालले बताए । उनले चुनाव अघिनै कारबाही प्रकृया अघि बढाइए निर्वाचनलाई असर गर्ने भन्दै चुनाव सकिएलगत्तै कारबाही गरिने बताएका हुन् । नगराइन नपा नेपाली काङ्ग्रेसका नेता तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिको क्षेत्र भएकोले एमाले र नेपाली काङ्ग्रेसकाबिच कडा प्रतिस्पर्धा रहेको छ ।


विनोदकुमार रविदास