काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेदवारको घरमा ढुङ्गा प्रहार

  ०७४ असार ११ गते

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

पीडित विष्टको घरमा नेपाली काङ्ग्रेसको प्रचार टोलीले असार १० गते राति १० बजेतिर ढुङ्गा प्रहार गरेको हो ।

ढुङ्गा प्रहारबाट कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर केशव चन्दले जानकारी दिए । घटना लगत्तै प्रहरी बोहरीगाउँ पुगेर अवस्था सामान्यीकरण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे दुवै पक्षलाई असार ११ गते बोहरीगाउँमै छलफल गराएको चन्दले बताए । बोहरीगाउँमा रहेका सबै पार्टीका वडा अध्यक्ष पदका उम्मेदवारहरूलाई बोलाएर आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने गरी लिखित कागज गराइएको उनले बताए ।

सहमति पत्रमा आचारसंहिता विपरित क्रियाकलाप नगर्ने, राति होहल्ला नगर्ने, एक अर्का उम्मेदवार माथि ढुङ्गा प्रहार, राजनीतिक रूपमा गालीगलौज नगर्ने, अनावश्यक समूह बनाएर नहिँड्नेलगायतका विषय समेटिएका छन् । दुवै तर्फकुनै क्षति नभएको कारण वार्ताको माध्यमबाट समाधान गरिएको प्रहरीले जनाएको छ ।

सहमति पत्रमा वडा अध्यक्ष पदका उम्मेदवारहरू नेपाली काङ्ग्रेसका अम्बादत्त जोशी, नेकपा एमालेका अजव विष्ट, नेकपा माओवादी केन्द्रका केशव बिक र नेकपा संयुक्तका नारायण जोशीले हस्ताक्षर गरेका छन् ।


नरेन्द्रसिह कार्की