काङ्ग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

  ०७४ वैशाख २४ गते

खैरहनी नगरपालिकाका नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको राससले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका-९ बछौलीस्थित चौधरीको घरमा बा ८ च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।

 

बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले जानकरी दिए । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उनले बताए । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

यसअघि वैशाख २३ गते बिहान भरतपुर महानगरपालिका-१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई गिरफ्तार गरी कारबाही गरेको जनाएको छ ।

 


अनलाइन डेस्क