काकीको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

  ०७५ माघ २९ गते

बिष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा ३९ वर्षीय भतिजा शत्रुघ्न मण्डललाई जिल्ला अदालत सप्तरीले माघ २८ गते जन्मकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले मण्डललाई जन्मकैद सजायको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए । मण्डल ०७१ चैत २२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यसैगरी ०७२ जेठ १३ गते १ लाख रुपियाँ धरौटीमा र पुनरावेदन अदालत राजविराजबाट सामान्य तारेखमा रिहा भएका सोही ठाउँका ५० वर्षीय रामध्यानी मण्डलमाथिको अभियोग दावी नपुग्ने भन्दै अदालतले सफाइ दिएको छ ।

स्रेस्तेदार वर्देवाका अनुसार हत्या आरोपमा फरार रहेका मृतककी सौता हल्सीदेवी मण्डलकी छोरी ज्वाइँहरू महदेवा गाउँपालिका–६ का ५१ वर्षीय सत्यनारायण मण्डल र राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका ५० वर्षीय रमानन्द मण्डलको हकमा मुद्दा मुल्तवी राखिएको छ ।

जग्गा जमीन र अंशसम्बन्धी विवादमा छलफल गरी प्रहरी सुरक्षा वेस क्याम्प पत्थरगाढाबाट फर्किरहेका बेला ०७१ साउन ११ गते राति उर्मिलाको हत्या भएको थियो ।

राजगढ गाउँपालिका–४ बेल्ही चपेनाको पिप्रास्थित कोशी पम्प नहरको शाखा नम्बर ४ को किनारमा ०७१ साउन १२ गते उर्मिलाको शव फेला परेको थियो ।

धारिलो हतियारले हात, गोडा काटिएको र गर्धन छिनिएको अवस्थामा फेला परेको शवको पोष्टमार्टम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ०७१ साउन १२ गते भएको थियो ।

वासुदेव मण्डलको जेठी पत्नी हल्सीदेवीतर्फ चार छोरी र कान्छी पत्नी उर्मिलादेवीतर्फ एक छोरी छिन् । बासुदेवको ०७० माघमा मृत्यु भइसकेपछि पतिको अंश दुई पत्नीलाई वण्डा गर्ने वा पाँच छोरीसहित दुई पत्नीलाई वण्डा गर्ने विषयमा विवाद चलिरहेको थियो ।

बासुदेवका भाइ असर्फि र असर्फिका छोरा शत्रुघ्न मण्डलले १८ लाखमा बासुदेवसँग जमीन किनेको दावी गर्दै अदालतमा मुद्दा चलाएका थिए ।

पुनरावेदन अदालतले ०७० चैत १६ गते बासुदेवको नाममा रहेको जमीनमा उर्मिलालाई बाली लगाउन, उठाउन, घरमा बस्न दिनु भन्दै निषेधायुक्त परमादेश जारी गरेपनि आरोपितहरूले बस्न, बाली उठाउन नदिएको र आरोपितहरूले ०७१ जेठ १२ गते रड, लाठीले प्रहार गरी गोडा भाँचेको भन्दै पीडित उर्मिलाले आवश्यक कारवाहीका लागि ०७१ जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा र शान्ति सुरक्षाका लागि ०७१ साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितहरू शत्रुघ्न र सत्यनारायणसहितले ०७१ जेठ १२ गते गरेको कुटपिटबाट घाइते उर्मिलाको गोडामा स्टिल लगाइएको थियो ।

सोही विवादका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच पटकपटक भएको छलफल नमिलेपछि प्रहरी सुरक्षा वेस क्याम्प पत्थरगाढामा ०७१ साउन ११ गते भएको छलफलमा लिखित रूपमा दुवै पक्षबीच जबरजस्ती सहमति गराइए पनि दुवै पक्षबीच चर्को विवाद भएको थियो ।

विवादकै बीच पीडित ०७१ साउन ११ गते राति बिष्णुपुर गापा–४ सिम्राहा सिंग्यौनका दिनेश यादवको स.१ प ७४१५ नम्बरको मोटरसाइकलमा चढी राजगढ गाउँपालिका–४ बेल्ही चपेनास्थित छोरीज्वाँई जितनारायण मण्डलको घर जाँदै थिइन् ।

सौता हल्सीदेवी, उनका छोरी ज्वाँइहरू, देवर असर्फी मण्डल र उनका छोरा शत्रुघ्नसँग विवाद बढेपछि दुई सातादेखि उर्मिला छोरीज्वाँइको घरमा बस्दै आएकी थिइन् ।

मृतककी छोरी सुनीतादेवी मण्डलले जिल्ला प्रहरी कार्यालयमा ०७१ साउन १३ गते दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको भन्दै मृतकका भिनाजुका भाई शम्भुनाथ नपा–१० रामपुर जमुवाका ३५ वर्षीय गोविन्दकुमार मण्डलले राजविराजस्थित हुलाक कार्यालयबाट आठ जना आरोपितविरूद्ध ०७१ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले पीडितकी छोरी सुनीतादेवीको उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउँदै हनुमाननगर कङ्कालिनी नपा–५ बाट ०७१ फागुन २३ गते शत्रुघ्नलाई गिरफ्तार गरेको थियो भने अन्य आरोपितहरू हालसम्म गिरफ्तार गर्न सकेको छैन् ।


मनोहरकुमार पोखरेल