कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप, नौ जना घाइते

  ०७७ असोज ३० गते

नेपाली कांग्रेसका कर्याकर्ता र सुरक्षाकर्मीबिच असोज २८ गते मलङ्गवामा झडप भएको छ ।  रामनगर गाउँपालिका–७ का ६४ वर्षीय कार्यकर्ता महेन्द्र रामको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गर्दै सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा प्रवेश गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको हो ।

झडपमा जिल्ला प्रहरी कार्यालयका डिएसपी ४२ वर्षीय मदन कुँवरसहित इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी ३८ वर्षीय उदव भाट, इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर ३६ वर्षीय विक्रम साह र इन्स्पेक्टर ३७ वर्षीय रविभुषण यादव घाइते भएको पीडित डिएसपी कुँवरले बताउनु भयो ।

घाइतेहरूको जिल्ला अस्पताल मलङ्गवामा भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले बताउनु भयो ।

त्यस्तै झडपमा एभिन्युज टेलिभिजनका सम्वाददाता ३६ वर्षीय बखतियार अलि घाइते हुनु भएको छ भने झडपमै कांग्रेस कार्यकर्ता बरहथवा नपा–३ का ६५ वर्षीया अनुखिया देवी, रामनगर गाउँपालिका–७ का ६२ वर्षीया किरणीया देवी, ५७ वर्षीया सोमरीया देवी र मृतक महेन्द्र रामका  ३२ वर्षीय भाइ जदुनन्दन राम घाइते भएका छन् ।

घाइते मध्ये अनुखिया, किरिणीया देवी र सोमरीया देवीलाई जिल्ला अस्पताल मलंगवामा उपचार गरी थप उपचारको लागि पर्साको बीरगंज पठाइएको सर्लाही क्षेत्र नं. ४ प्रदेश ‘ख’ का प्रदेश सभा सांसद विरेन्द्र सिंहले बताउनु भयो ।

मृतक महेन्द्र रामका भाइ र मृतककी पत्नी ६२ वर्षीय सुकमरीया देवी रामले उजुरी लिएर जिल्ला प्रहरी कार्यालय भित्र पस्न खोज्दा प्रहरीले लाठी चार्ज गरेकोले भिड अनियन्त्रित भई झडप भएको प्रदेश सभा सदस्य विरेन्द्र सिंहले बताउनु भयो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३३ राउण्ड अश्रु ग्याँसको प्रयोग गरेको थियो भने बलरा नपा–३ का ५२ वर्षीय रामबली गिरी र बागमती नपा–६ का २५ वर्षीया बविता देवी महतोलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी सन्तोष सिंह राठौरले बताउनु भयो ।

महेन्द्र रामलाई असोज २१ गते बेलुकी आफ्नो घर अगाडि बसिरहेको बेला १२–१५ जनाको समूहले घरेलु हातहतियार प्रहार गरी घाइते बनाएकोमा पर्साको इन्डो अस्पताल बीरगंजमा उपचारको क्रममा असोज २२ गते मृत्यु भएको कांगे्रस सर्लाहीका सभापति नागेन्द्रकुमार यादवको आरोप छ ।

मृतक रामको हत्यामा संलग्नलाई कारवाही नगरेको भन्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालय मलङ्गवामा ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि प्रदर्शन गर्नु परेको प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाले बताउनु भयो ।

मृतकको शव नारायणी अस्पताल बीरगंजमा नै रहेको पनि उहाँले जानकारी दिनु भएको छ ।  यसैबिच नेकपाले आज असोज २९ गते विज्ञप्ति जारी गरी महेन्द्र रामको मृत्युको घटनालाई कांग्रेसले राजनीतिक घटनामा रुपान्तरण गरेकोप्रति आपत्ति जनाएको छ ।

आफ्नै समुदायमा आपसी विवाद पछि घाइते भएका रामको मृत्यु घटना भएको भोलिपल्ट उपचारका क्रममा भएको तर कांग्रेसले घटनालाई राजनीतिक रङ् दिएर हिंसात्मक बनाउन विभिन्न गलत गतिविधिको सहारा लिइरहेको भन्दै नेकपा सर्लाही अध्यक्ष रेवती पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


बुधन साह