कर्मचारी विहीन अस्पताल, सबै सेवा अवरूद्ध

  ०७६ वैशाख २ गते

कर्मचारी समायोजनको मारमा सिन्धुली अस्पताल परेको छ । जसका कारण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा सबै खालका स्वास्थ्य सेवा अवरूद्ध बनेका छन् ।

५१ वेडमा सञ्चालित यो अस्पतालमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरू नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ ।

अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरू समायोजनमा परी सबैको सरूवा भएपछि सिन्धुली अस्पतालका शल्यक्रियासहितको प्रसूति सेवा, ओपिडी सेवा, एक्सरे तथा ल्याव सेवा, फार्मेसी सेवालगायतका सेवा अवरूद्ध बनेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले हालै गरेको कर्मचारीहरूको समायोजनपछि सबै कर्मचारीहरू सरूवा भएका कारण अस्पताल रित्तो भएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताए ।

अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६४ जनाको दरबन्दी रहेकोमा हाल एक जना प्रशासनिक कर्मचारी भन्दा बाहेक अरू सबै सरूवा भएको उनले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमसहितका अन्य सबै कर्मचारीले सङ्घ अन्र्तगत कार्यालयहरू रोजेको र दुई जना अनमीहरूले स्थानीय तह रोजेकामा सबैको सरूवा भएको छ ।

यो अस्पतालमा दैनिक ३ सय देखि ४ सयको बिचमा बिरामीहरू आउने गरेको पोखरेलले बताए । अहिले अस्पतालमा लेखा शाखामा समेत कर्मचारी समेत छैनन । जसका कारण लेखा र प्रशासनको काममा समेत समस्या भएको छ ।

अस्पतालमा निशुल्क औषधि पनि छैन

अस्पतालको फार्मेसी शाखामा राज्यबाट निशुल्क प्रदान गरिने भनेको औषधिसमेत नभएको पोखरेलले बताए ।

अस्पतालमा प्रदेश सरकारले निशुल्क औषधि नपठाएको र बजेट पनि नपठाएको अध्यक्ष पोखरेलले आरोप लगाए ।

अस्पताल विकास समितिसँग आम्दानीको श्रोत नभएकाले अबको चार/पाँच दिनमा सबै औषधि सकिने अध्यक्ष पोखरेलले बताए ।


विमला पाण्डे