कर्मचारी नहुँदा दुई महिनादेखि विषादी मापन प्रयोगशाला बन्द

  ०७६ माघ १३ गते

राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रको प्रयोगशाला दुई महिना देखि बन्द रहेको छ ।

पोखरा  शान्तिवनको विक्रि केन्द्रमा रहेको प्रयोगशालामा कर्मचारी नहुँदा नियमित रुपमा फलफुल तथा तरकारीको विषादी मापन हुन सकिरहेको छैन ।

०७६ माघ १३ गते सोमबार अवलोकनका लागी पुगेका मानवअधिकार समुह कास्की र इन्सेकको टोली सँगको कुराकानीमा विक्री केन्द्रका बजार व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले सरकारले कर्मचारी व्यवस्थापन नगर्दा बाहिरबाट आएका फलफुल तथा तरकारी सिधै विक्रि केन्द्रमा भित्राउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

‘बाहिर लगेर विषादी मापन गर्न सकिदैन दुई महिना भयो विषादी मापन हुन छाडेको केन्द्र देखि प्रदेशसम्म जानकारी गराएका छौं छिट्टै समाधान हुने आश्वासन पाएका छौं’,उहाँले भन्नुभयो ।

विषादी प्रयोगशाला संचालनका लागी २ जना प्राविधिक र किट खरिदका लागी मासिक १ लाख बराबरको खर्च हुने लामाको भनाइ छ ।

‘बजेटको अभाव छ नियमित खर्चलाई व्यवस्थापन गर्न प्रदेश सरकारसंँग कुराकानी पनि गरियो मन्त्रीज्यूले यसपाली बजेट छैन व्यवस्थापन गरौला भन्नुभएको छ’,लामाले भन्नुभयो ।

पोखरामा रहेको विक्रि केन्द्रमा कास्की , काभ्रे , धादिङ , चितवन , स्याङ्जा जिल्लाको त्रियासी भन्ने स्थानबाट फलफूल तथा तरकारी भित्रीने गर्दछन् । जसमा ५ प्रतिशत भारतबाट आयत हुने गर्दछन् ।

काभ्रेबाट आयात गरिने आलु, स्याङ्जाबाट आउने गोलभेंडामा विषादीको मात्र अधिकतम प्रयोग हुने गरेको यसअघिको परीक्षणले देखाएको लामा बताउनुहुन्छ ।

‘केहीसमय अघि काभ्रेबाट ल्याएको ८७ बोरा आलु अधिक विषादी भएकै कारण नष्ट गरियो’,उहाँ भन्नुुहुन्छ,‘प्रयोगशाला संचालन हुदाँ किसानहरु पनि डरकै कारणपनि विषादी प्रयोगमा कम गर्न थालेका छन्’ ।

नेपाल भारत सिमामा विषादी जाँच नियमित गर्न सकेमा पनि देशैभर विषादी प्रयोग गरिएका फलफूल तथा तरकारी विक्रिमा कमि आउने लामाको भनाइ छ ।

प्रयोगशालालाई छिटो भन्दा छिटो संचालनमा ल्याउन राज्यको निकायले गम्भीर रुप सोच्नुपर्ने उहाँको भनाइ छ ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल , गैसस महासंघ कास्की अध्यक्ष पदम पहारी , इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा , मानवअधिकार समूह अध्यक्ष श्याम कुँवर, सदस्य बिना लोहनी, निर्मला अर्याल, कास्की प्रतिनिधि सुशन घिमिरे, सहजकर्ता तिर्सना तिमिल्सिना लगायत पत्रकारहरुको टोलीले कृषि बजार र विषादी प्रयोगशालाका बारेमा चासो राख्दै अवलोकन गर्नुभएको हो ।

अवलोकन पश्चात इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले उपभोक्ताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा जोडिएको प्रयोगशालाको संचालनका लागी राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

यसअघि पनि पटकपटक बन्द भएको प्रयोगशाला संचालनका लागी इन्सेक, मानवअधिकाुर समूह, शान्तिका लागि नागरिक समाजको सन्जाल लगायतले नियमित संचालनका लागि पहल गर्दै आइरहेका थिए ।

photo20200127kaski2

photo20200127kaski3

photo20200127kaski4

photo20200127kaski5

photo20200127kaski1

 

 

 

 


सुशन घिमिरे