कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा

  ०७६ भदौ २१ गते

स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा पर्न थालेका छन् । माई नगरपालिकामा कर्मचारीको अभाव सबैभन्दा बढी छ ।

आवश्यक परेको बेला वडा कार्यालयमा सचिवनै नभेट्दा जन्मदर्ता, विवाहदर्ताको प्रमाणपत्र लिन तथा नागरिकताको सिफारिस समयमै बनाउन समस्या भएको माई नपा–३ का पदमबहादुर लिम्बूले बताए ।

नगरपालिकाका वडा नम्बर–१, ३, ५, ९ र १० को वडा सचिवको काम र नगरपालिका कार्यालयको प्रशासन, जिन्सी तथा योजना शाखाको काम कर्मचारी केशव खनालले गर्दै आएका छन् ।

‘सबै वडामा पुगेर काम गर्न कठिनाइ छ । समय मिलाउनै सकिँदैन ।’–खनालले भने–‘कार्यालयको अरू शाखाको पनि काम गर्नुपर्ने हुँदा वडाको विशेष गरी पञ्जिकरणको काम यहीँबाट गर्ने गरेको छु ।’

वडा कार्यालयमा सबै काम गराएर सेवाग्राही हस्ताक्षर गराउन वडा सचिव खोज्दै नगरपालिकाको कार्यालयमै आउने गरेको खनाल बताउँछन् । काजमा रहेका खनालले चाहे अनुसार सेवा प्रदान गर्न नसकिएको बताए ।

कर्मचारी सायोजन भएर जाँदा दरबन्दी अनुसारका कर्मचारी नहुनुले कार्यालय र वडा कार्यालय समेतको काम चलाउन समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम घिमिरे बताउँछन् ।

एकै जना कर्मचारीलाई धेरै कामको जिम्मेवारी दिनुपरेकाले कर्मचारी अभाव हुँदा नगरपालिकाको राजश्व सङ्कलन र तथ्याङ्कको काम नभएको घिमिरेले बताए ।

माई नगरपालिकासहित सूर्योदय नगरपालिका, इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिकालगायतका जिल्लाका १० ओटै स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज चलाउन समस्या भएको स्थानीय तहले जनाएका छन् ।


कोकिला ढकाल