कर्मचारी अभावका कारण बालबालिका नियमित खोप सेवाबाट वञ्चित

  ०७६ मङ्सिर १६ गते

कर्मचारी अभावका कारण जिल्ला अस्पताल भोजपुर बाट दिइने नियमित खोप सेवा प्रभावित भएको छ ।

जिल्ला अस्पताल भोजपुरमा चार जना अनमीको दरबन्दी भए पनि कर्मचारी समायोजनका कारण सरूवा भएर गएपछि समस्या भएको हो ।

जसकारण कात्तिकको दोस्रो सातादेखि खोप सेवा बन्द भएको छ । खोप सेवा बन्द हुँदा बालबालिकाका लागि नियमित खोप सेवा सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठले बताउनु भयो । कर्मचारी अभावका कारण दुई वर्ष मुनिका बालबालिकालाई दिइने खोप सेवा प्रभावित भएको हो ।

जिल्ला अस्पतालमा यसअघि कार्यरत कर्मचारीहरू समायोजनका कारण अन्य ठाउँमा सरूवा भएपछिनियमित रूपमा दिँदै आएको खोप पाउन बाट बालबालिका वञ्चित भएका छन् ।

खोप लगाउनका लागि अस्पतालसम्म आफ्ना बच्चा लिएर गएका आमाहरू बालबालिकालाई खोप नलगाइकन फर्किनु परेको छ ।

अस्पतालकै लापरबाही कारण आफ्ना बच्चाहरूले समयमा खोप सेवा नपाएको आरोप आमाहरूको छ । बच्चालाई खोप लगाउन अस्पताल पुग्नु भएकी अनिता श्रेष्ठले भन्नुभयो–‘स्वास्थ्य जस्तो कुरामा राज्य सचेत भइदिएको भए आज मेरो बच्चा खोप लगाउनबाट वञ्चित हुनु पर्दैन थियो ।’

जिल्ला अस्पताल भोजपुरका सूचना अधिकारी राजेन्द्र राउतले अस्पतालमा आवश्यक कर्मचारी नहुँदा बालबालिका फर्किनु परेको बताउनु भयो ।

उहाँले नियमित खोप कार्यक्रम अन्तर्गत नै दरबन्दी भएको कर्मचारीको पहिला नै सरूवा भएर अन्यन्त्र गएपछि अस्पतालका स्टाफबाट काम चलाउँदै आएकोमा अस्पतालका पनि कर्मचारी समायोजनका कारण अन्य सरूवा भएर गएपछि कर्मचारी नहुँदा समस्या भोग्नु परेको बताउनु भयो । कर्मचारी व्यवस्थापनको लागि स्थानीय तथा प्रदेश सरकार सँग पहल भइरहेको राउतको भनाइ छ ।


गणेश विष्ट