कर्मचारी अभावका कारण छायाँनाथ राराबासीले सामजिक सुरक्षा भत्ता पाएनन्

  ०७६ कात्तिक २० गते

छायाँनाथ रारा नगरपालिकाका १४ ओटा वडामध्ये १३ ओटा वडा कार्यालयले दशैँ अगाडि नै नगरपालिकाबाट निकासा लिई सामजिक सुरक्षा भत्ता वितरण गरिसकेको भएपनि सोही नगरपालिका–१ को कार्यालयले भने सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ गरेको छ ।

अरूले दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता पाएपनि सो वडामा तिहार सकिएपछि समेत सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा मर्कामा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

वडा कार्यालयमा स्थायी कर्मचारी नरहेको र स्थायी कर्मचारीले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने प्रावधान रहेकाले स्थानीयबासी समयमै सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

छायाँनाथ रारा नपा–१ का ८६ वर्षीय दानबहादुर मल्ललाई दशैँ अगाडि नै सरकारले सामाजिक सुरक्षा भत्ता दिने आशा रहेपनि भत्ता नपाउँदा दशैँतिहार खल्लो भएको बताए ।

भत्ताको रकमले दशैँ तिहारमा न्यानो नयाँ कपडा किनौँला, केही मिठो मसिनो खाउँला भन्ने योजना रहेपनि पैसा नपाउँदा सरसापट गरेर चाडपर्व मान्नु परेको मल्लले बताए ।

सो वडामा रहेका पाँच वर्ष मुनिका बालबालिका ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला र अशक्त अपाङ्गता भएका व्यक्ति गरी ३ सय ३७ जनाले सामजिक सुरक्षा भत्ता लिने गरेको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयमा स्थायी कर्मचारी नरहेको र नगरपालिकामा रहेका स्थायी कर्मचारीले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने प्रावधान रहेकाले समयमा नै सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्न नसकिएको वडा नम्बर १ का अध्यक्ष लोकबहादुर हितानले बताए ।

नगरपालिका भित्र रहेका १४ ओटा वडामा जम्मा तीन जना सचिव रहेका र नगरमा कर्मचारी अभाव हुँदा रकम वितरण गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

१४ वडाका लागि दुई–तीनजना सचिवले छोटो अवधिमा १४ ओटा वडाका ८७ ओटा गाउँबस्तीमा सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्नुपर्ने भएकाले अबको एक हप्ताभित्र रकम वितरण भइसक्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए ।

नगरपालिका भित्रका कर्मचारीले रकम बुझ्न नमानेपछि वडा नम्बर १ का लागि वितरण गर्नुपर्ने रकम १९ लाख २० हजार ४ सय रुपियाँ कोष तथा लेखा नियन्त्रण कार्यालयमा रोकिएको नगरपालिकाले जनाएको छ ।


जीवन सेजुवाल