कर्मचारीको लापरवाहीले ज्येष्ठ नागरिकले भत्ता पाएनन्

  ०७६ असोज २८ गते

कर्मचारीको लापरवाहीका नारायण नगरपालिकाका करिब २ हजार २ सय जना ज्येष्ठ नागरिक र एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् ।

पहिलेदेखि सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरूको विवरण तथ्याङ्क अद्यावधिक गर्न छुटाएका कारण भत्ता रोकिएको सेवाग्राहीले आरोप लगाएका छन् ।

नारायण नपा-१ का ७२ वर्षीय चन्द्रबहादुर सुनारले दशैँ अघि असोज १७ गते बिहान ९ बजेदेखि लाइनमा बसेर ३ बजे पालो पर्खिएको भएपनि सम्बन्धित बैङ्कले 'तपाइँको भत्ता आएको छैन' भनेपछि त्यसै फर्किएको बताए ।

भत्ताका लागि बैङ्कमा नगरपालिकाले पठाएको नामावली हेर्दा उनको नाम नभेटेपछि नगरपालिकामा सम्पर्क गर्न पठाइएको बैङ्कको भुक्तानी शाखाका सहायक नेत्र जोशीले बताए ।

नगरपालिकाको वडा नम्बर १ का सचिव गोपाल श्रेष्ठले नगरपालिकाले अभिलेख अद्यावधिक गर्दा पञ्जिकरण शाखाबाट नाम छुटेको थाहा भएको बताए ।

पञ्जिकरण शाखाले सामाजिक सुरक्षा भत्ता लिनेहरूको नाम अद्यावधिक गर्दा इन्टरनेट 'स्लो' भएको र कामका चापको बेला भुलवस नाम छुट्न गएको नारायण नगरपालिकाका पञ्जिकाधिकारी मोहन थापाले प्रतिक्रिया दिए ।

दोश्रो चौमासिकमा समेटेर उनलाई यो समयको सामाजिक सुरक्षा भत्ता समेत थपेर पठाइने थापाले बताए । चन्द्रबहादुरले १२ वर्षअघि २०६४ देखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।

नारायण नगरपालिकाले बैङ्कमा रकम ढिला पठाएका कारण ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकासमेत २ हजार ५ सय भन्दा बढी लाभग्राहीमध्ये करिब ३ सय जनाले मात्र दशैँअघि बैङ्कबाट सामाजिक सुरक्षा भत्ता निकालेका थिए ।

सरकारले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूको हकमा सम्बन्धित व्यक्ति र दलित बालबालिकाको हकमा अभिभावकको नाममा खाता खोल्न अनिवार्य गरेपनि नारायण नगरपालिकाका १-९ वडाका लाभग्राहीहरूको मात्र बैङ्क खाताबाट सुविधा दिने गरेको छ ।

पुनर्संरचनापछि नारायण नगरपालिकामा थपिएको वडा नम्बर १० भवानी, वडा नम्बर ११ बिन्ध्यवासिनी र बाँकी १० ओटा स्थानीय तहहरूले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र दलित बालबालिकाहरूलाई सामाजिक सुरक्षा भत्ताको रकम हातहातै दिने गरेका छन् ।


अमर सुनार