कर्णाली प्रदेश सरकारद्वारा कर्णालीबासीका लागि सामूहिक दुर्घटना बीमा

  ०७६ असोज २ गते

कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नागरिकहरूका लागि सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले असोज १ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी विपद् जोखिमविरूद्ध सबै नागरिकका लागि सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएको जानकारी दिएको हो ।

कर्णाली प्रदेशका कुल १७ लाख ७० हजार नागरिकहरूको दुर्घटना बीमा गर्नका लागि प्रदेश सरकारले राष्ट्रिय बीमा बोर्डसँग सम्झौता गरिसकेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले बताए ।

भौगोलिक विकटता र सबै क्षेत्रबाट पछाडि रहेको यस प्रदेशका सबै नागरिकहरूका लागि १ लाख रुपियाँ बराबरको निःशुल्क दुर्घटना बीमाको व्यवस्थापन गरिएको जानकारी पनि सचिव यादवले दिए ।

बीमा कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद्को उच्च जोखिममा रहेको यस प्रदेशका नागरिकहरूका लागि बीमा कार्यक्रम फलदायी बन्ने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दुर्घटना बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई राखे ।

यससँगै कर्णाली प्रदेश सरकार आफ्ना प्रदेशका सबै नागरिकहरूका लागि बीमा गर्ने पहिलो प्रदेश बनेको छ ।


दुर्गा थापा