कम्लरीहरूको तत्काल उद्धार गर्न माग

  ०७६ असार १३ गते

छैठौ कम्लरी मुक्ति दिवसका अवसरमा असार १३ गते पूर्वकम्लरीहरूको सङ्गठन मुक्त कम्लरी विकास मञ्चले घोराहीमा आयोजना गरेको कार्यक्रममा मुक्तिको छैठौँ वर्ष लाग्दा पनि ४७ बालिकाले दासी जीवन बिताइरहेको भन्दै तत्काल उद्धार गरी पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन्  ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १२ हजार ८ सय ८२ कम्लरी बालिकाको उद्धार भइसकेको भन्दै मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले उद्धार हुन बाँकी बालिकाको छिटो उद्धारका लागि अपील गरेकी हुन् ।

मञ्चले बर्दियाकी एक र कैलालीकी एक जना बालिका बेपत्ता पारिएको समेत जानकारी दिएको छ । साथै मञ्चले ११ जना कुमारी कम्लरी आमाबाट जन्मिएका बच्चाहरूको जन्मदर्ता समेत हुन नसकेको भन्दै जन्मसिद्ध अधिकारसमेत कुण्ठित भएको जनाएको छ ।

मुक्ति दिवसका अवसरमा पूर्वकम्लरीहरूले शुभकामना साटासाट गर्दै कम्लरीको उद्धार, पूर्वकम्लरीको शिक्षा, स्वास्थ्य र रोजगारको उचित व्यवस्था गर्न माग गरे ।

पूर्वकम्लरी तथा प्रदेश पाँच प्रदेशसभा उपसभामुख कृष्णी थारूले कम्लरी मुक्त घोषणालाई कडाइका साथ कार्यान्वयन गर्न सबैले आ– आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताइन् ।

उनले एक्काइसौँ शताव्दीमा मान्छेलाई दासदासीका रूपमा राख्नेहरू माथि कारवाही हुने बताइन् । यसैगरी उनीहरूले दासताबाट मुक्ति दिएर आफूहरूले नयाँ जीवन पाएको भन्दै अरूको जीवन बचाउन आफूहरूले रक्तदान गरेको मञ्चकी पूर्व अध्यक्ष उर्मीला चौधरीले बताइन् ।

photo20190628dang (1)

photo20190628dang (2)

photo20190628dang (3)

photo20190628dang (4)

photo20190628dang (5)

photo20190628dang (6)


जे.एन.सागर