बोक्सी लागेको भन्दै अमानवीय व्यवहार, आरोपित गिरफ्तार

  ०७६ भदौ २३ गते

कनकाई नगरपालिका-२ की २२ वर्षीया महिलालाई बोक्सी लागेको भनी अमानवीय व्यवहार गर्ने सोही ठाउँका ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीलाई भदौ २० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले भदौ १९ गते रातको १०ः४५ बजे बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेको पीडितले बताइन् । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि आरोपितद्वयलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

डिएसपी थापाले भने-'पीडित महिलालाई ज्वरो आएको रहेछ । उनीहरूले पीडितलाई बोक्सी लागेको भन्दै यातना दिएको पाइयो ।'

आरोपितद्वयलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।


नरेश खाती