कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला

  ०७३ पुस ४ गते

कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ ।

कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह-५ की ४५ वर्षीय लली पुनलाई पाँच वर्षकैद र जनही ५० हजार रुपियाँको फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्तेदार हरि राम्जाले जानकारी दिए ।

बिरामी परेकी पीडित महिलालाई गएको जेठ २४ गते बोक्सी लागेको र भगाउने भन्दै निको बनाउने बहानामा मण्डलीमा राखेर सिस्नोले हानेको, अभक्ष खुवाएको तथा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको थियो ।

गत जेठ २४ गते घटना भएको भएपनि पीडित महिलाको अवस्था नाजुक बन्दै गएपछि परिवारले ढिलोगरी साउन ५ गते मात्रै घटना सार्वजनिक गरेको थियो ।

घटनापछि प्रहरीले अमानवीय व्यवहार गरेको आरोपमा गएको साउन ६ गते पाँच जनालाई गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश माधवेन्द्रप्रसाद रेग्मीको इजलासले सोही घटनामा संलग्न रहेको आरोप लागेकी २१ वर्षीया रुपा थापालाई भने सफाई दिएको छ ।


मीना बुढाथोकी