कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७४ असोज ९ गते

बीरगञ्ज महानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साका संयोजक ५५ वर्षीया राजकुमारी उपाध्यायलाई कथित बोक्सी भन्दै कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीमा बस्दै आएकी २० वर्षीया सरिता श्रेष्ठ, उनकी दिदी २४ वर्षीया सोनु कार्की, सोनुका पति चितवन घर भई काठमाडौँमा कार्यरत सशस्त्र प्रहरी जवान योगेन्द्र कार्की, ३५ वर्षीया प्रीति गुरुङ, उनका पति ३७ वर्षीय सुनिल मगरविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको छ ।

उपाध्यायलाई कथित बोक्सीको आरोपमा कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पीडितले असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।

झण्डै डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी उपाध्याय कथित बोक्सी आरोपमा आफैँ कुटपिट र मानसिक यातनाबाट पीडित भएकी हुन् । उपाध्यायलाई प्रिती र सनिल मगरको १५ वर्षीया छोरी जिया गुरुङलाई कथित बोक्सी लगाएको आरोप लगाइएको छ ।

असोज ८ गते बिहान १ बजे आरोपितहरूले उपाध्यायलाई आफनो कोठामा लगेर कुटपिट गर्नुका साथै कथित बोक्सी झार्ने भन्दै अक्षतापाती छरेर पूजा आजा गरेका थिए । पीडित उपाध्यायले आरोपितहरूले कथित बोक्सी भन्दै कुटपिट समेत गरेको बताइन् ।

उपाध्यायलाई उनकै छोरा बन्देश ढकालका साथी बीरगञ्ज महानगरपालिका-१५ का अफताव हवारीले बिहान उद्धार गरेका थिए । उपाध्यायकी बुहारी जयलक्ष्मी ढकालले मोबाइलबाट फोन गरेर बीरगञ्ज बाहिर रहेका आफ्ना पति बन्देशलाई घटनाका बारेमा जानकारी गराएपछि बन्देशले आफ्ना साथी हवारीलाई घटना स्थलमा पठाएका थिए ।

आरोपितहरूले बुहारीलाई सासु उपाध्याय भएको कोठामा जानबाट रोक लगाएर राखेका थिए । उपाध्याय तल र बुहारी जयलक्ष्मी घरको माथिल्लो तलामा थिइन् । आफूलाई घेराबन्दी गरेर राखेको जयलक्ष्मीले बताइन् ।

प्रहरीले कुटपिट गरेको आरोपमा सशस्त्र प्रहरी जवान योगेन्द्र कार्की, सरिता श्रेष्ठ, सोनु कार्की, प्रीति गुरुङ र सुनिल गुरुङलाई सोही दिन गिरफ्तार गरेको छ ।


के.सी.लामिछाने