कथित बोक्सीको आरोप लगाउनेलाई कानुनी कारबाहीको माग

  ०७३ भदौ २ गते

धधवार गाविस-९ डफैयाकी ४० वर्षीया बेलकुमारी थारू र उनकी १८ वर्षीया छोरी पवित्राकुमारी चौधरीलाई कथित बोक्सीको आरोप लगाएको उजुरी परेपछि प्रहरीले सोही ठाउँका ४५ वर्षीया प्रेमकुमारी थारू र २० वर्षीया निर्मला थारूलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

पीडित बेलकुमारी र पवित्रालाई आरोपितहरूले कथित बोक्सीको आरोप लगाएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय रामपुरमा भदौ १ गते कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका थिए ।

बेलकुमारी र पवित्राले उजुरीमा भनेका छन्-'आफूहरूलाई साउन ३० गते प्रेमकुमारी र निर्मलाले कथित बोक्सीको आरोप लगाउँदै गालीगलौज र दुर्व्यवहार गरे । उनीहरूलाई कारबाही गरिपाउँ ।'

शरीरमा लक्कड बाबाको देउता चढ्यो भन्दै काँप्दै बोक्सीको आरोप लगाएर प्रेमकुमारी र निर्मलाले गालीगलौज गर्नुको साथै दुर्व्यवहार गरेको पवित्राले बताइन् । उनीहरूले साउन २७ गतेदेखि ३० गतेसम्म डफैया गाउँमा शरीरमा भुत आयो भन्दै काँप्दै दुर्व्यवहार गरेको बेलकुमारीले आरोप लगाएकी छन् ।

यस अघि पनि दुईपटकसम्म बेलकुमारीको परिवारलाई प्रेमकुमारीसहित सोही ठाउँका स्थानीयबासीले कथित बोक्सीको आरोप लगाएको पीडित पक्षले आरोप लगाएको छ ।

६ वर्षअघि प्रेमकुमारीले बोक्सीको आरोप लगाएको घटनामा गाउँलेले पाँच सय रुपियाँ जरिबाना तिराएर मिलापत्र गराइएको थियो । यसैगरी ०७२ भदौ ५ गते इलाका प्रहरी कार्यालय रामपुरमा घटना नदोहोर्‍याउने भन्दै माफी माग्न लगाई सहमति गरिएको थियो । तर, एक वर्षनपुग्दै पुनः घटना भएपछि आफूहरू न्यायका लागि अघि बढेको बेलकुमारीले बताइन् । 'सामाजिक रूपमा न्याय नपाएपछि बाध्य भएर कानुनी उपचार खोजेका हौं ।'-पवित्राले भनिन् ।

इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर कर्ण बहादुर बमले मुद्दा दर्ता गर्नुको साथै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताए ।


मानबहादुर चौधरी