कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

  ०७४ चैत २४ गते

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै चैत २३ गते साँझ आफ्नै घरमा बोलाएर बृद्धाको पेट र पाखुरामा टोकेर घाउ बनाएको भनी पीडित महिलाले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

सो उजुरीका आधारमा 'बोक्सीको आरोपसम्बन्धी कसूर र सजाय ऐन २०७२' बमोजिम अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले जानकारी दिए ।

आरोपित रामचन्द्र बोगटीले आफूलाई देउता आएर बहिनीलाई बोक्सी लगाएको खुटिएको भन्दै बोक्सी झार्न त्यसो गरेको तर पछि होस् आउँदा राजकुमारी जैसीलाई घाइते अवस्थामा देखेको बताए । आफूलाई देउता आएको बेला गरेको गतिविधि याद नभएको बोगटीको भनाई थियो ।

'बोक्सीको आरोपसम्बन्धी कसूर र सजाय ऐन २०७२' को दफा ३ को उपदफा २ (क) र (खं) मा बोक्सीको आरोप लगाएमा ६ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।


अमर सुनार