कथित बोक्सीको आरोपविरुद्धको मुद्दा मुल्तवीमा

  ०७६ असोज ३ गते

रूपनी गाउँपालिका–२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय शिवकुमार मण्डल, उनका ३२ वर्षीय भाइ चन्द्रशेखर मण्डल र ३५ वर्षीय धर्मदेव मण्डलविरूद्धको मुद्दा असोज २ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको आदेशमा ०७४ भदौ २६ गते जिल्ला अदालतमा दायर भएको सो मुद्दा हाललाई मुल्तबीमा राखिएको हो ।

कथित बोक्सीको आरोप लगाई ०७४ असार ५ गते साँझ गालीगलौज र कुटपिट गरेको आरोप लगाउँदै पीडितले आरोपितहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी असार ९ गते दर्ता भएको थियो ।

आरोपित शिव र चन्द्रशेखरका बुवा रामप्रसाद मण्डललाई कथित बोक्सी लगाई बिरामी पारेको भन्दै आरोपितहरूले कपाल समातेर घिसार्दै आगो लगाई जलाउने प्रयास गरेको पीडितले बताएकी थिइन् ।

पीडितका अनुसार आरोपितहरूले कुटिरहेको दृष्य मोबाइलबाट खिचिरहेकी पीडितकी १८ वर्षीया छोरी सरीता साहलाई समेत कुटपिट गर्दै मोबाइल खोसेको आरोप छ ।

पीडितहरूको रूपनीस्थित युनिक अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको थियो ।

आरोपित शिवकुमारले जग्गासम्बन्धी विवाद रहेकोमा उनले झुठो आरोप लगाएको बताए । जिल्ला अदालतले आरोपितहरूविरूद्ध ०७४ भदौ २६ गते म्यादसहितको वारेण्ट पुर्जी जारी गरेको थियो ।


मनोहरकुमार पोखरेल